देश

श्वास रहेसम्म सत्याग्रह जारी राख्ने मेयर भट्टराईको प्रतिवद्धता,सरकारको निष्क्रियतामाथि तीव्र असन्तुष्टि

काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको आमरण अनशन पाँचौं दिनमा प्रवेश गरेको छ। बाँदर आतङ्क नियन्त्रणदेखि जलवायु परिवर्तन र बाँसको व्यवस्थापनसम्मका ७ बुँदे माग राख्दै माइतीघर मण्डलामा अनशनरत मेयर भट्टराईले “एक मुठी श्वास बाँकी रहुन्जेल” सत्याग्रह नरोकिने चेतावनी दिएका छन्।

शुक्रवार एक प्रेस विज्ञप्तिमार्फत उपमेयर विसन राईले मेयरको स्वास्थ्य गम्भीर बन्दै गएको र सरकारको निष्क्रियता खेदजनक भएको बताएका छन्। भट्टराईलाई स्वास्थ्य बिग्रिएपछि वीर अस्पताल भर्ना गरिएको थियो, जसपछि राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।

यसैबीच, सहरी विकास मन्त्री प्रकाशमान सिंह र स्वास्थ्य मन्त्री प्रदीप पौडेलको पहलमा वन तथा वातावरण मन्त्रालयमा भएको ५ घण्टे वार्ता निष्कर्षविहीन रह्यो। उपमेयर राईको आरोप छ – वार्ता औपचारिकतामा सीमित रह्यो, सरकार मागलाई तुहाउने दिशामा जान खोजिरहेको छ।

राईले प्रयोग भएका शब्दहरू “अमूर्त” र “तदर्थ” भएको भन्दै वार्ताको गम्भीरता माथि प्रश्न उठाएका छन्। मेयर भट्टराईले जिल्ला प्रशासन कार्यालयलाई पनि आलोचना गर्दै आमरण अनशनको निगरानीका लागि प्रतिनिधि नपठाएकोमा असन्तुष्टि जनाएका छन्।

सरकारको मौनता र निष्क्रियताबीच भट्टराईको सत्याग्रह अब केवल एक स्थानीय मुद्दा होइन, शासकीय संवेदनशीलतामाथिको परीक्षा बन्न थालेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *