काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई आमरण अनशनमा गम्भीर स्वास्थ्य समस्यामा परेपछि राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारलाई जीवन रक्षाका लागि तुरुन्त पहल गर्न आग्रह गरेको छ।
भट्टराई साउन ११ गतेदेखि माइतीघर मण्डलामा आमरण अनशनमा बसेका थिए। उनले बाँस प्रवर्द्धन, रैथाने संस्कृति संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण, क्रसर उद्योगको नियमन, जङ्गली जनावर नियन्त्रण, प्लास्टिकजन्य प्रदूषण नियन्त्रण र अलपत्र ठेकेदारहरूलाई कारबाहीलगायतका माग राखेका छन्।
माइतीघरमै अनशन सुरु गर्ने क्रममा उनी सिंहदरबार जान खोज्दा प्रहरीले नियन्त्रणमा लिएर माइतीघरमै अनशन गर्न बाध्य पारिएको थियो। प्रशासनले रत्नपार्कस्थित शान्तिवाटिकामा अनशन गर्न सुझाए पनि उनले अस्वीकार गरेका थिए।
साउन १४ गते राति स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई वीर अस्पतालको आपतकालीन कक्षमा भर्ना गरिएको थियो। अस्पतालका अनुसार उनकाे ब्लडप्रेशर, सुगर र मुटुको धड्कन सामान्यभन्दा कम रहेको छ। चिकित्सकको सल्लाहमा अस्पताल भर्ना भए पनि उनले अस्पतालमै अनशन जारी राखेका छन्।
बिहीबार मानव अधिकार आयोगले माइतीघर मण्डल र वीर अस्पताल पुगेर स्थलगत अनुगमन गरेको छ। आयोगले अनशनरत मेयर भट्टराई, स्वास्थ्य मन्त्री प्रदीप पौडेल, चिकित्सक तथा प्रशासनसँग छलफल गरेर अवस्थाबारे जानकारी लिएको छ। आयोगले सरकारका प्रतिनिधि र भट्टराईबीच अनौपचारिक वार्ता भइरहेको जनाउँदै वार्तामार्फत समाधान निकाल्न र भट्टराईको जीवन रक्षामा ध्यान दिन सरकारलाई आग्रह गरेको हो ।
यसैबीच, बुधबार साँझ नेपाल प्रहरीले मेयर भट्टराईलाई माइतीघर मण्डलाबाट उठाउने प्रयास गर्दा समर्थकहरूसँग भनाभनसमेत भएको थियो। भट्टराईले भने आफू कुनै राजनीति नगरेको, स्थानीय तहको आवाजलाई केन्द्रसम्म पुर्याउन मात्र संघर्ष गरिरहेको स्पष्ट पारेका थिए ।
भट्टराईले माग गरेका विषयहरू स्थानीय स्वशासन, वातावरणीय संरक्षण र सार्वजनिक जवाफदेहिताका लागि महत्वपूर्ण मानिँदै आएका छन्। तर, अहिलेसम्म उनका मागप्रति सरकारले औपचारिक प्रतिक्रिया दिएको छैन। सरकारले मेयर भट्टराईको साँत बुँदे मागलाई त्तत्काल सम्बोधन गर्नुपर्ने भन्दै खोटाङले सरकारको ध्यानाकर्षण गराउदै आएको छ भने सो विषयमा स्थानीय गाउँपालिका तथा नगरपालिकाहरुले साँत बुँदे मागप्रति ऐक्यवद्धता जनाउँदै सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।







