काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न काठमाडौँ आउन लागेका छन् ।
बुधबार सम्पन्न संसदीय दलको नेताको निर्वाचनमा पराजित भएपछि लामा बिहीबार हेटौँडाबाट काठमाडौँ प्रस्थान गरेका हुन् ।
संसदीय दलको नेताका लागि भएको निर्वाचनमा इन्द्र बानियाँले २२ मत प्राप्त गर्दा लामाले १४ मत मात्र ल्याएका थिए । ३७ सांसद रहेको कांग्रेस संसदीय दलमा एक मत बदर भएको थियो ।
लामाले आफू स्वेच्छाले सभापतिलाई भेट्न काठमाडौँ आउन लागेको बताएका छन् । ‘म सभापतिज्यूलाई संसदीय दलको नेताका लागि भएको निर्वाचन र अन्य गतिविधिबारे जानकारी गराउन आज काठमाडौँ आउँदैछु,’ लामाले भने ।
नुवाकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित लामा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन् ।




