देश

पोखरामा रमाउँदै हायू परिवार, गाउँ फर्काउन गएका आफन्त खाली हात फिर्ता

लेखनाथ। सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, बिखरकटेरीबाट घर, पशुचौपायासहित सबै सम्पत्ति छाडेर पोखरा आइपुगेको हायू परिवार अहिले पोखरा महानगरपालिका–३०, गगनगौंडामा रमाइरहेको छ।

बुधबार बिहान परिवारलाई सम्झाएर गाउँ फर्काउने उद्देश्यले वडाध्यक्ष रविनकुमार श्रेष्ठ आफन्तसहित पोखरा पुगे पनि साँझ उनीहरू खाली हातै सिन्धुली फर्किएका छन्।

१६ सदस्यीय हायू परिवारका सदस्य र तिनका तीन जना आफन्त गरी १९ जना अहिले पोखरामा कोठा भाडामा लिएर बस्न थालेका छन्। परिवारकी प्रमुख उर्मिला हायूले अब गाउँ नफर्किने अडान राखेकी छिन्। “हामी बिरामी भयौं, गाउँमा असुविधा थियो। अब यतै काम गरेर बस्ने हो,” उर्मिलाले भनिन्।

उर्मिलाका श्रीमानको केही समयअघि नै निधन भइसकेको छ। छ जना छोरा र छ छोरीसहितको उनको परिवारमा आधा जति सदस्य स्कुल जाने उमेरका छन्। जेठा छोरा राजु हायूले स्कुल टाढा हुनु र परिवारका सदस्यहरू बारम्बार बिरामी पर्नु गाउँ छाड्ने मुख्य कारण भएको बताए। आफन्तलाई उनले केही दिन सोचेर निर्णय दिने बताएका छन्।

शुक्रबारदेखि सम्पर्कविहीन भएको हायू परिवारलाई खोजीमा खटिएको सुरक्षा संयन्त्रले सोमबार साँझ पोखरामा भेटेको थियो।

वडाध्यक्ष श्रेष्ठका अनुसार बिखरकटेरी गाउँ एकान्त भए पनि अति विकट भने होइन। “बिजुली पुगेको छ, खानेपानीको धारा घरमै छ, बजार आधा घण्टामा पुगिन्छ,” उनले भने, “घर, बस्तुभाउ छाडेर कसैलाई नबताई जानु हामी सबैका लागि अचम्मको विषय हो।”

श्रेष्ठका अनुसार वडामा करिब ५० घर हायू समुदायका छन्। “यहाँ काम गर्ने सदस्य कम भएकाले बाँच्न गाह्रो हुन्छ भन्ने बुझिन्छ, तर हामीले गाउँमै बस्न चाहने भए घर किनिदिने, अन्यत्र बस्न चाहने भए पनि खेतीबारीको व्यवस्था गरिदिने भनिसकेका छौँ,” उनले भने, “उहाँहरूले केही दिनमा निर्णय दिने भनेका छन्। हामी उहाँहरूलाई गाउँमै सहज जीवन बिताइरहेका देख्न चाहन्छौँ।”

मंगलबार प्रहरीले हायू परिवारका सदस्यलाई पोखराका ज्वाइँ धनबहादुर तामाङको जिम्मा लगाएको थियो। धनबहादुर तनहुँका बासिन्दा र पोखरा–मुग्लिन सडक विस्तार आयोजनामा कार्यरत छन्। उनी उर्मिलाकी छोरी कमला हायूका श्रीमान हुन्।

हायू समुदायको बसोबास सिन्धुली, रामेछाप, सर्लाही, महोत्तरी, उदयपुर, काभ्रे र सिराहा लगायतका जिल्लामा छ। राज्यले २०६४–६५ देखि हायू जातिलाई मासिक भत्ता दिँदै आएको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार हायू समुदायको जनसंख्या ३ हजार ६९ छ। यद्यपि, आफ्नै भाषा बोलीने भए पनि वक्ताको संख्या क्रमशः घट्दो छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *