मुख्य समाचार

गैंडाकोटको चर्चित बगैंचा रिसोर्टमा बिहानै आगलागी, मुख्य भवन पूर्णरूपमा जलेर नष्ट

काठमाडौं ।  पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–११ मा रहेको ‘बगैंचा एडभेन्चर रिसोर्ट’मा आज बिहान भीषण आगलागी भएको छ। करिब पाँच सय जना अट्ने मुख्य हल र रिसेप्सन भएको भवनमा लागेको आगोले ठुलो क्षति पुर्‍याएको छ।

काठ र ‘र्‍याम्ड अर्थ’ प्रविधिबाट बनेको रिसोर्टमा विद्युत सट भएर आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। आगो लागेपछि कावासोती र भरतपुरबाट खटिएको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि भवन जलेर पूर्णरूपमा नष्ट भएको छ।

रिसोर्टका सञ्चालक सन्तोष धितालले विदेशबाट फर्किएर ९ वर्ष लगाएर निर्माण गरेका थिए। डेढ वर्षअघि मात्र सञ्चालनमा आएको यो रिसोर्ट आफ्नै शैलीको निर्माणका कारण लोकप्रिय बन्न थालेको थियो। टायल वा मार्बल प्रयोग नगरी, काठकै भिल्ला, काइट हाउस र कार्ट हाउस समेटिएको रिसोर्ट अहिले पूर्णरूपमा बन्द भएको छ। क्षतिको विस्तृत विवरण संकलन कार्य भइरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *