देश

बेनीमा नेवार समुदायको तीन सय वर्ष पुरानो बर्खे नाच सुरु

गलेश्वर (म्याग्दी)। म्याग्दीको सदरमुकाम बेनीमा नेवार समुदायको सांस्कृतिक पहिचान झल्काउने तीन सय वर्ष पुरानो बर्खे नाच मङ्गलबारदेखि सुरु भएको छ।

नेपाल भाषा मंका खलःको आयोजनामा र ल्यामपुचः यूवा संगठनको व्यवस्थापनमा सुरु भएको नाचको पहिलो दिन लाखे नाच प्रदर्शन गरिएको हो। भक्तपुरबाट नेवार समुदाय बेनी झरेपछि यो नाच यहाँ भित्रिएको जनविश्वास छ।

घण्टाकर्ण चतुर्दशीका दिन घण्टाकर्ण नामक राक्षसको आकृति विसर्जन गरेपछि सुरु हुने बर्खे नाच साउन १३ गतेदेखि भदौ १० गतेसम्म सञ्चालन हुनेछ। तीजको दिन लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि नाचको समापन गरिन्छ।

नागपञ्चमीदेखि हरितालिका तीजसम्म चल्ने बर्खे नाचमा लाखे, जोगी, नागनागिनी, घोडा नाच, श्रीकृष्ण रथयात्रालगायत विभिन्न नाचहरू प्रस्तुत गरिनेछन्। जनशक्ति अभावका कारण रोपाईं नाच र हनुमान नाच भने हाल नियमित हुन सकेका छैनन्।

नेपाल भाषा मंका खलःका उपाध्यक्ष कुबिरकुमार श्रेष्ठका अनुसार जनैपूर्णिमाको भोलिपल्ट दिवङ्गत व्यक्तिहरूको सम्झनामा सापरु अर्थात् नागनागिनी नाच निकाल्ने परम्परा पनि छ।

पछिल्लो समय युवाहरूको सक्रिय सहभागितासँगै यो सांस्कृतिक परम्परा अझ सजीव बन्दै गएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *