काठमाडौंं । सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट अचानक बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखरामा भेटिएका छन्। शनिबार मध्यरात घर छाडेका उनीहरू सोमबार पोखराको गगनगौंडामा बसिरहेको अवस्थामा फेला परे।
२९ वर्षीय राजु हायूका अनुसार, पानी, बत्तीको अभाव र बालबालिकाको स्वास्थ्य समस्या प्रमुख कारण भएर उनीहरूले सिन्धुली छाडेका हुन्। ूराम्रो उपचार र शान्त जीवनको खोजीमा यहाँ आएका हौं, उनले भने।
उनीहरूले पोखरामा पाँचवटा कोठा भाडामा लिएर बस्न थालेका छन्। बसोबासको बन्दोबस्त उर्मिला हायूका ज्वाईं धनबहादुर तामाङले गरेका हुन्, जो पोखरा–मुग्लिङ सडक निर्माणमा कार्यरत छन्।
कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाका अनुसार, हायू परिवारले अब सिन्धुली फर्किने योजना नराखी पोखरामै केही काम गरेर बस्ने सोच बनाएका छन्। मंगलबार आफन्तको जिम्मा लगाइएको परिवारले त्यसपछि फेवा ताल पुगेर डुंगा शयर र तालबाराही मन्दिरको दर्शन समेत गरेका थिए।
सिन्धुली प्रहरीले सुरुमा १६ जना बेपत्ता भएको जनाएको थियो, तर पोखरामा १९ जना पुगेको पुष्टि भएको छ। घर छाडेर हिँड्दा उनीहरूले सबै सामान खुल्ला छाडेका थिए, र बाख्रा–कुखुरा पनि बाँधिएको अवस्थामा थिएन। वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उनीहरूले साउन ८ मा सामाजिक सुरक्षा भत्ता बुझेको र त्यसपछि सम्पर्कविहीन भएका थिए।
यो घटनाले गाउँमा छाडिएको जीवन र सहरमा खोजिएको सम्भावनाबीचको फरक चित्रण गरेको छ।




