देश

मटिहानीमा पौराणिक झुलनोत्सव सुरु

जलेश्वर ।महोत्तरीको मटिहानी नगरपालिका–७ मा रहेको प्रसिद्ध लक्ष्मीनारायण मठमा आजदेखि पौराणिक झुलनोत्सव सुरु भएको छ। साउन शुक्ल पक्षदेखि पूर्णिमासम्म मनाइने यस पर्वमा भगवान् रामसीताको मूर्ति पालकीमा राखी झुलाघरसम्म भजन–कीर्तनसहित लगिन्छ र राति अबेरसम्म झुलाइन्छ।

लक्ष्मीनारायण मठका मानमहन्थ रविन्द्रदास वैष्णवका अनुसार झुलनोत्सव त्रेतायुगदेखि चलेको परम्परा हो। साउन महिनामा भगवान् रामसीता झुलामा झुलेको सम्झनामा यो पर्व मनाइन्छ। पर्वको अवसरमा मठ परिसरमा मेलाको आयोजना गरिएको छ।

मिथिला क्षेत्रका महोत्तरी, धनुषा, सर्लाही, सिराहा, सप्तरी तथा भारतको तिरहुत क्षेत्रका मठमन्दिरहरूमा पनि झुलापर्व धुमधामले मनाइन्छ। झुलाघरमा रामसीताको मूर्ति राखी कजरी र मलारजस्ता भक्ति गीत गाइन्छ।

संस्कृतविद् ध्रुव रायका अनुसार झुलनोत्सव वृन्दावनमा कृष्णलीला स्वरूप पनि मनाइन्छ भने सन्यासीहरूले आफ्ना आराध्यलाई झुलाउने परम्परा रहिआएको छ।

झुलापर्वको अवसरमा मटिहानीमा सर्वसाधारण र बालबालिकाका लागि झुला चलाउने मेसिन र मनोरञ्जनात्मक मेला पनि सञ्चालनमा ल्याइएको छ। स्थानीय दीपेन्द्र मण्डलका अनुसार यो अवसरमा घर–घरमा पाहुनाको आवागमनसमेत हुने गर्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *