घोडाघोडी (कैलाली) ।थारु समुदायको मौलिक सांस्कृतिक पर्व ‘गुरही’ आज उल्लासपूर्वक मनाइँदैछ। कैलाली, कञ्चनपुरलगायत थारु बस्तीहरूमा यो पर्व परम्परागत रुपमा विविध कार्यक्रमसहित मनाइँदै आएको छ।
श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीका दिन मनाइने यस पर्वमा थारु समुदायले ‘गुरही’ पूजा गर्छन्। थारु परम्पराअनुसार गुरही पूजाले सर्पको आतङ्क, आगलागी, चट्याङ, रोगव्याधी आदि टर्ने जनविश्वास छ।
पर्वका अवसरमा घोडाघोडी नगर भल्मन्सा कार्यसमितिको आयोजनामा ‘गुरही असरैना’ कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा सांस्कृतिक नाचगान पनि प्रस्तुत गरिने समितिका सचिव अमन चौधरीले जानकारी दिनुभयो। यस अवसरमा स्थानीय तहहरूले सार्वजनिक बिदा दिएका छन्।
गुरही पर्व बालबालिकासँग जोडिए पनि अहिले सबै उमेर समूहले मनाउने गरेका छन्। महिलाहरूले कपडाको टुक्राबाट पुतली (गुरही) बनाउँछन् भने केटाहरूले बाँस वा जुटको लट्ठी तयार गर्छन्। साँझपख चोकमा भेला भई पूजा गरिन्छ र भाइबहिनीबीचको प्रेमको प्रतीकस्वरूप दिदीबहिनीले पुतली फाल्ने, दाजुभाइले पिट्ने परम्परा रहेको छ।
गुरही पिटेपछि युवतीहरूले ल्याएको भुजा, चना, मकैजस्ता प्रसाद बाँडिन्छ। त्यसपछि गुरहीलाई नदी वा कुलोमा बगाइन्छ, जसले रोगव्याधी र संकट हट्ने विश्वास गरिन्छ। कतिपयले पुतली बनाउने कपडाका टुक्रा घरको ढोकामा बाँध्ने चलनसमेत रहेको छ।
थारु अगुवा पञ्चराम चौधरीका अनुसार गुरही पर्व गाइने कीराको प्रतीकका रूपमा विकसित भएको हो, जसले लामखुट्टे र हानिकारक कीटाणु खाने हुँदा यसको प्रतीकात्मक पूजा गरिन्छ।




