देश

सिन्धुलीबाट हराएका हायू परिवारको खोजी रामेछापसम्म, १६ जना सम्पर्कविहीन !

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का एकै परिवारका १६ जना सदस्य चार दिनदेखि सम्पर्कविहीन भएपछि खोजीको दायरा रामेछापसम्म फैलिएको छ। हराएका व्यक्तिहरू लोपोन्मुख हायू समुदायका हुन्, र उनीहरू साउन ८ गते स्थानीय निकायबाट प्राप्त भत्ता रकम बुझेको केही समयपछि बेपत्ता भएका थिए।

प्रहरीका अनुसार हराएका व्यक्तिहरूको मोबाइल फोनको अन्तिम लोकेसन रामेछाप नगरपालिका–९, सिमन्दीछाप क्षेत्रमा देखिएको छ।
यसै आधारमा रामेछापका हायू बस्तीहरूमा प्रहरीले खोजी कार्य तीव्र पारेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले जानकारी दिए।

गोलन्जोर वडा नं. ६ का वडाध्यक्ष रविन श्रेष्ठका अनुसार, परिवारको घरमा तालाबन्दी नभएको, बाख्रा(कुखुरा छाडिएको, भाँडाकुँडा अस्तव्यस्त, र भान्सामा आगो बालेको जस्तो देखिएको अवस्था रहेको छ। हामी प्रहरीसहित घरमा पुग्यौं, तर घरको अवस्था निकै शंकास्पद छ, वडाध्यक्ष श्रेष्ठले बताए।

सम्पर्कविहीन हुनेहरूमा उर्मिला हायू, उनका छोरी(छोरा, नातिनी र ज्वाइँसहित १६ जना छन्। उनीहरूले ३ महिनाको भत्ता प्रतिव्यक्ति ४ हजारको दरले बुझेका थिए। भत्ता पाएपछि घरमा सुँगुरको मासु खाएको पुष्टि भएको छ, तर त्यसपछि उनीहरू एकाएक हराए।

रामेछापको वडा नं. ८ र ९ का हायू समुदायका बस्तीहरूमा प्रहरी टोली परिचालन गरिएको छ। मोबाइल टावरको सिग्नल रामेछापको देखिए पनि त्यो गोलन्जोर क्षेत्रमै पनि कार्यरत हुन सक्ने सम्भावना प्रहरीले औंल्याएको छ। हामीले मोबाइल ट्रेसिङ, प्रत्यक्ष खोजी र स्थानीयसँगको समन्वयमार्फत अनुसन्धान गरिरहेका छौूँ एसपी लालध्वज सुवेदीले जानकारी दिए।

एकैपटक १६ जना सदस्य बेपत्ता हुनु, घरको शंकास्पद अवस्था, र मोबाइल लोकेसन रामेछाप देखिनुका कारण घटनालाई गम्भीररूपमा लिएर दुई जिल्लाका प्रहरी परिचालन भएका छन्। उनीहरू स्वेच्छाले गएका हुन् कि केही घटनामा परेका हुन् भन्नेबारे अझै स्पष्ट नभएको प्रहरीले जनाएको छ। खोजी कार्य जारी रहेको छ।522380799_1405278804061890_7116814008997652194_n

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *