काठमाडौं । कोशी प्रदेशसभाको आजको बैठकमा ‘योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल समाप्त भएको छ । छलफलमा कोशी प्रदेशसभाका चार जना सदस्यले आ–आफ्ना धारणा राखेका थिए ।
सो विधेयकका सम्बन्धमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले कर्मचारीहरुको उचित व्यवस्थापन गर्न कोषले मद्दत गर्ने बताए । उनले २०७६ साल साउन १ देखि कर्मचारीहरुको हकमा कोष स्थापना गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार विधेयक आएको जानकारी दिँदै कोषको रकम कहाँ जम्मा गर्ने अहिले नै निक्र्यौल नभएको स्पष्ट गरे ।
उनले प्रस्तुत विधेयकका आधारमा स्थानीय तहका कर्मचारीहरुको समेत एकरुपता कायम गरी कोष खडा गर्न सहज हुने बताए । सभामा ‘सामाजिक विकास संस्था ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ सदनमा टेबुल भएको छ । सामाजिक विकासमन्त्री पाँचकर्ण राईले पेस गर्नुभएको प्रस्ताव सर्वसम्मतले पारित भएको थियो ।
शून्य समयमा कोशी प्रदेशसभाका सदस्य रामप्रसाद महतो, रामदेव यादव र राजन किराँतीले खडेरीका कारण किसानले समयमै धान रोप्न नपाएको अवस्थामा सिँचाइका लागि कृषि मिटरको व्यवस्थासहित सहुलियत दिन सरकारको ध्यानाकर्षण गरे । सदस्य गोम्बु शेर्पाले विश्वको सर्वोच्च शिखर ‘सगरमाथा’ कोशी प्रदेशमा पर्ने भए पनि यसबाट सङ्कलन हुने राजस्व सङ्घको हुने र त्यस क्षेत्रको फोहोर व्यवस्थापनमा सङ्खीय सरकारको ध्यान नगएको भनी दुःख व्यक्त गरे ।
यसैगरी, सदस्य गणेशप्रसाद उपे्रतीले पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलका नाममा उठेको घूस प्रकरणका विषयमा छानबिन उनले भने । सदस्य भक्तिप्रसाद सिटौलाले झापाको विर्तामोडस्थित यातायात कार्यालयमा स्वास्थ्य परीक्षणमा खटिएका कर्मचारीको योग्यता नपुगेको जानकारी दिँदै स्वास्थ्य परीक्षणको प्रमाणपत्र दिने चिकित्सकले सेवाग्राहीबाट तोकिएको रकमभन्दा बढी रकम असुल्ने गरेकामा सरकारको ध्यानाकर्षण गराए । अर्को बैठक भोलि मङ्गलबार दिउँसो १ बस्नेछ ।




