देश

प्राधिकरणको स्पष्टीकरण –लोडसेडिङ फर्किएको होइन, भ्रामक प्रचार गरियो

काठमाडौं । चितवनको चनौली क्षेत्रका बासिन्दाले पछिल्ला दिनमा अनियमित विद्युत् आपूर्तिको सास्ती खेपिरहेका छन्। बत्ती गइरहँदा सामाजिक सञ्जालमा लोडसेडिङको ‘कमब्याक’ भएको चर्चा चुलियो। तर, नेपाल विद्युत् प्राधिकरणले त्यस्तो हल्ला ‘भ्रामक र अतिरञ्जित’ भएको भन्दै खण्डन गरेको छ।

प्राधिकरणका अनुसार यो लोडसेडिङ होइन, ट्रान्सफर्मर र लाइन स्तरोन्नतिको क्रममा उत्पन्न प्राविधिक समस्या हो। चनौली वितरण केन्द्रअन्तर्गतको क्षेत्रमा लाइनमा अधिक लोड परेकाले अस्थायी अवरोध भएको हो। भरतपुर–चनौली ३३ केभी लाइनले क्षमताभन्दा बढी भार बेहोरिरहेका बेला अवरोध स्वाभाविक भएको प्राधिकरणको तर्क छ।

प्राधिकरणले स्पष्ट पारे पनि आम उपभोक्तालाई यसबारे जानकारी दिन ढिलाइ भएको देखिन्छ। सूचना अभावकै कारण लोडसेडिङको हल्ला फैलिएको हो। अझ, यो सूचना स्पष्ट रूपमा समयमै दिइएको भए जनताको अन्योल घट्थ्यो।

प्राधिकरणले समस्या समाधानका लागि चनौलीमा नयाँ ३३ केभी लाइन निर्माण अन्तिम चरणमा रहेको जानकारी दिएको छ। काम सम्पन्न भएपछि दीर्घकालीन समाधान हुने उनको भनाइ छ। साथै, वर्षायाममा अपेक्षा अनुसार पानी नपर्दा सिँचाइको मागले ट्रान्सफर्मरमा अतिरिक्त भार परेको पनि उल्लेख गरिएको छ।

प्राधिकरणले विज्ञप्तिमा भनेको छ, “लोडसेडिङ अब नेपालका लागि इतिहास हो। अतः यसलाई फर्किएको भन्नु भ्रामक प्रचार हो।” उनीहरूका अनुसार प्राविधिक टोली दिनरात खटिएको छ र दुई–तीन दिनमै आपूर्ति नियमित हुनेछ।

तर प्रश्न उठ्छ – जब आम मानिसहरू फेरि बत्तीको अनिश्चिततामा बस्न बाध्य छन्, प्राधिकरणले प्राविधिक त्रुटिको सही जानकारी समयमै नदिएकोमा उत्तरदायी कोरु

बिजुली जानु समस्या मात्र होइन, सूचना नपाउनु अझ ठूलो समस्या हो। प्राधिकरणले समस्या समाधानको प्रतिवद्धता जनाए पनि अबको प्राथमिकता जनतालाई सत्य, स्पष्ट र समयमै जानकारी दिनु हुनुपर्छ – नत्र ‘लोडसेडिङ’ भन्ने शब्द फेरि इतिहासको होइन, वर्तमानको सन्दर्भ बन्दै जान सक्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *