मुख्य समाचार

शिक्षकप्रति सरकारको अपमानजनक व्यवहार, एमालेको म्याउ नीति’ – प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज काठमाडौँ सितापाइलाको सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवनको उद्घाटन गर्दै शिक्षक सङ्गठनको प्रशिक्षण कार्यक्रममा सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा उनले वर्तमान सत्ता र प्रतिपक्ष दुबैप्रति कडा टिप्पणी गरे ।

प्रचण्डले विशेषगरी शिक्षक आन्दोलन, शिक्षा विधेयक र हालको राजनीतिक परिदृश्यमा माओवादी केन्द्रको भूमिका स्पष्ट पार्दै भने, ‘शिक्षकहरूले सडकमा आउनुनपर्ने अवस्था संविधानले नै सुनिश्चित गर्‍यो, तर त्यसअनुसार कार्यान्वयन नगर्दा आन्दोलन गर्न बाध्य भए।माओवादी केन्द्र सरकारमा भएको भए शिक्षकहरू अपमानित हुन पर्दैनथ्यो ।’

उनले पछिल्लो पटक आफू नेतृत्वको सरकारले शिक्षकहरूसँग गरेको सहमति कार्यान्वयन गर्न तत्परता नदेखाएको भन्दै असन्तोष व्यक्त गरे । ‘सरकार तयार नभएपछि तपाईंहरू (शिक्षकहरू) सडकमा रहनुपर्‍यो, आन्दोलनमा हुनुभयो। तर सरकारको नेतृत्वबाट अपमानजनक व्यवहार भयो,’ प्रचण्डको भनाइ थियो।

शिक्षा विधेयकको सन्दर्भमा बोल्दै उनले संसदमा विधेयकमाथि गरिएको छेडछाड प्रति आपत्ति जनाउँदै भने, ‘हामी सरकारमा हुँदा शिक्षकका माग समेटिएको विधेयक अगाडि बढाएका थियौँ, तर अहिले त्यसमा षडयन्त्र गरिएको छ।’

प्रचण्डले सङ्घीय निजामती सेवा ऐनमा गरिएको संशोधनलाई पनि राजनीतिक रूपमा जोड्दै ‘कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्‍यो’ गरेको टिप्पणी गरे । उनले एमालेका सांसदहरूले राष्ट्रियसभामा ल्याएको संशोधन प्रस्तावबाट माओवादी केन्द्रले उठाएको शंका पुष्टि भएको बताए ।

राजनीतिक सङ्कटबारे चर्चा गर्दै प्रचण्डले कांग्रेस र एमाले दुवै पार्टीमा वैचारिक नेतृत्वको खडेरी रहेको समेत बताए । ‘एमालेभित्र वैचारिक सङ्कट छ, जबजको उत्तराधिकारीको अन्योल छ,’ उनले भने । अध्यक्ष ओलीले मदन भण्डारीसम्बन्धी बोलेका कथित अभिव्यक्तिहरूलाई समेत आलोचना गर्दै वैचारिक दिशाहीनता देखिएको उनको भनाइ थियो ।

प्रचण्डले माओवादी केन्द्र भने अहिले पनि जनतासँग जोडिने प्रयासमा सक्रिय रहेको बताउँदै भने, ‘हामी अहिले आठौँ महाधिवेशनको नीति र विचारअनुसार जनतासँग प्रत्यक्ष सम्पर्कको अभियानमा छौँ । यही वैचारिक स्पष्टता हाम्रो बल हो । अहिले माओवादी केन्द्र मात्रै यस्तो पार्टी हो जहाँ वैचारिक राजनीतिक नेतृत्वको सङ्कट छैन ।’

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *