देश

पूर्वराष्ट्रपति भण्डारीको पक्षमा लागेका युवा संघका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल निलम्बित

बुटवल ।पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई संघले एक वर्षका लागि निलम्बन गरेको छ। साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई संघका सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गरी निलम्बन गर्ने निर्णय गरेको महासचिव रमेश चौलागाईले जारी गरेको पत्रमार्फत जानकारी गराइएको छ।

रुपन्देहीको देवदह निवासी खरेलमाथि संघको विधान २०४७ (संशोधित २०८२) को धारा ४१ र ४२ (क) तथा (ख) बमोजिम अनुशासनहीनता र अन्य कारबाही हुने कारण निलम्बन लगाइएको हो।

संघले उनलाई १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमण्डल सदस्यहरू प्रति अशिष्ट व्यवहार, प्रतिनिधिहरूलाई धम्क्याएको र सामाजिक सञ्जालमा पार्टी नेतृत्वलाई लाञ्छना लगाउने गतिविधि गरेको आरोप लगाएको छ। यसैबारे स्पष्टीकरण सोध्दा खरेलले “गैरजिम्मेवार र अराजक जवाफ” दिएको, केन्द्रको निर्देशन विपरीत प्रदेश कमिटी सचिवालय बैठक राखेको र स्वेच्छाचारी गतिविधि गरेको पनि बताइएको छ।

खरेललाई तीन दिनभित्र उपस्थित भई स्पष्टीकरण दिन भनिएको भए पनि उनले इमेलमार्फत तीन पृष्ठ लामो जवाफ पठाउँदै सबै आरोप अस्वीकार गरेका छन्। उनले महाधिवेशनमा अध्यक्षमा सुमन पुरीलाई समर्थन गरेको, अभद्र व्यवहार नगरेको र नेतृत्व परिवर्तनका लागि सामाजिक सञ्जालमा उठाएको कुरा अपराध नभएको बताउँदै निलम्बन निर्णय अन्यायपूर्ण र पूर्वाग्रहमूलक रहेको प्रतिक्रिया दिएका छन्।

खरेलले पार्टीलाई एकजुट र बलियो बनाउन नेतृत्व विकल्प खोज्नु कुनै अपराध नभएको र आफू संघमै सक्रिय रहन क्रियाकलाप अघि बढाउने तथा आवश्यक परे समानान्तर कमिटी पनि गठन गर्न सक्ने चेतावनी दिएका छन्।

सुरज खरेल देवदह नगरपालिकाका मेयर ध्रुव खरेलका छोरा हुन्। उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा नेतृत्व परिवर्तनको माग गर्दै “पार्टीको माया छ, पार्टीलाई एकजुट बनाउन अझै आशा बाँकी छ” भनी पोस्ट पनि गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *