गण्डकी। पोखरा–मुग्लिन सडक आयोजनाको पोखरा–जामुने खण्डमा भौतिक प्रगति ५५.१० प्रतिशत पुगेको छ। ३८.८८ किलोमिटर दूरीको यस खण्डमा हालसम्म ३७.७० किलोमिटरमा एकतर्फी कालोपत्र सम्पन्न भएको आयोजनाले जनाएको छ।
आयोजनाका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार २६.३८ किलोमिटरमा दुईतर्फी (चार लेन) र १०.३२ किलोमिटरमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको छ। सन् २०२१ को सेप्टेम्बर (वि.सं. २०७८ भदौ) देखि निर्माण सुरु गरिएको यो खण्डको म्याद आगामी पुससम्म छ। निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले काम गरिरहेको छ।
१३ पुलमध्ये ११ पुल सम्पन्न भइसकेका छन् भने सेती र विजयपुर खोलाको पुल निर्माणाधीन छन्। विजयपुर पुलको प्रगति ६० र सेती पुलको ४८ प्रतिशत रहेको छ। सेती पुलको डिजाइन र संरचना हटाउने कार्यमा ढिलाइ हुँदा काम पछाडि परेको बताइएको छ।
सिग्नेचर पुलका रूपमा निर्माण भइरहेको सेती पुल केवल–स्टेड प्रविधिमा बन्नेछ, जसको सब–स्ट्रक्चर सकिएको र हाल सुपर–स्ट्रक्चरको काम भइरहेको छ। यो छ लेन सडकमा चाइना पुलको माथि–तल दुई आकर्षक नयाँ पुल निर्माण हुनेछन्।
पुल निर्माणको ठेक्का रकम भ्याटबाहेक ९४ करोड रुपैयाँ छ। एसियाली विकास बैंकको ऋण सहयोगमा भइरहेको यो सडक विस्तारले गण्डकी प्रदेशको जीवनरेखा मानिने पोखरा–मुग्लिन खण्डलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
पूर्वी खण्ड (जामुने–मुग्लिन) मा भने भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजनाले जनाएको छ। अवरोध नआएमा आगामी हिउँदसम्ममा पश्चिम खण्डको स्तरोन्नति कार्य सम्पन्न हुने लक्ष्य लिइएको छ।




