देश

वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१/८२ मा वन्यजन्तुको आक्रमणबाट ११ जनाको ज्यान गएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार सबैभन्दा बढी गैँडाको आक्रमणबाट आठ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, हात्तीको आक्रमणबाट दुई र बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । वन्यजन्तुको आक्रमणमा परी ४१ जना घाइते भएका छन्, जसमा ३२ जना गम्भीर र नौ जना सामान्य घाइते छन् ।

मृत्यु हुनेमध्ये अधिकांश घाँस काट्न र निगुरो टिप्न गएका व्यक्तिहरू हुन् । बाघ, गैँडा, हात्ती, जङ्गली बँदेल, मगरगोही र गौरीगाईको आक्रमणमा परेर ज्यान जाने घटनाहरू भएका छन् ।

पछिल्लो पाँच वर्षमा निकुञ्ज क्षेत्रमा ७३ जनाले ज्यान गुमाएका छन् भने १६९ जना घाइते भएका छन् । २०७८/७९ मा सबैभन्दा बढी ३० जनाको मृत्यु भएको थियो, जसमा २१ जनालाई बाघले आक्रमण गरेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दा अनुमति लिएर सामुदायिक वन र निकुञ्ज क्षेत्रमा घाँसदाउराका लागि जाने गर्छन् । मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले वन्यजन्तुको वासस्थान व्यवस्थित गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्नुपर्ने सुझाव दिए ।

निकुञ्जले जनचेतनामूलक कार्यक्रमसहित मेस जाली लगाउने काम गर्दै आएको छ ।

गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट १७९ वटा घरपालुवा पशु मरेका छन् । तीमध्ये सबैभन्दा बढी १४० वटा चितुवाको आक्रमणमा परेका हुन् । बाघको आक्रमणबाट ३७ र अजिङ्गरको आक्रमणबाट दुईवटा पशुको क्षति भएको छ ।

यस्तै, हात्तीले २३ वटा घरमा क्षति पुर्‍याएको र १३ वटा घरका अन्न भण्डारमा समेत क्षति पु‍र्‍याएको निकुञ्जले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *