विश्व

हिरासतमा लिइएका बेलायती दम्पतीको उपचार भइरहेको तालिबानको दाबी

अफगानिस्तानमा महिनौंदेखि हिरासतमा रहेका एक वृद्ध बेलायती दम्पतीको उपचार भइरहेको तालिबान सरकारका उच्च कूटनीतिज्ञले बुधबार बताएका छन्।

करिब १८ वर्षदेखि अफगानिस्तानमा बस्दै आएका ८० वर्षीय पिटर र बार्बी रेनोल्ड्सलाई फेब्रुअरीमा चिनियाँ–अमेरिकी साथी फेय हल र एक अफगान अनुवादकसहित गिरफ्तार गरिएको थियो।

अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्ताकीले राजधानी काबुलमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “उनीहरूका सबै मानव अधिकारको सम्मान गरिएको छ ।”

उहाँले भन्नुभयो, “उनीहरुलाई उपचारको व्यवस्था मिलाइएको छ र उनीहरूलाई बेलाबेलामा आफ्ना परिवारसँग सम्पर्कको व्यवस्था गरिएको छ ।”

मुत्ताकीले भन्नुभयो, “उनीहरूको रिहाइका लागि प्रयास भइरहेको छ, तर प्रक्रिया पूरा भएको छैन।”

संयुक्त राष्ट्रसङ्घका स्वतन्त्र विज्ञहरूले सोमबार उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा ‘तीव्र गिरावट’ आएको चेतावनी दिँदै यसले ‘अपूरणीय क्षति वा मृत्युको समेत जोखिम’ रहेको बताएका थिए।

संयुक्त राष्ट्रसङ्घका अनुसार ती दम्पतीलाई केही महिनासम्म उच्च सुरक्षा युक्त स्थानमा राखिएको थियो, त्यसपछि अँध्यारो जमिनमुनिका कोठाहरूमा राखिएको थियो भने गत हप्ता उहाँहरूलाई काबुलको गुप्तचर सेवा कार्यालयमा स्थानान्तरण गरिएको थियो।

सन् २०२३ मा मस्तिष्काघात भएपछि पिटर रेनोल्ड्सलाई मुटुको औषधि आवश्यक पर्ने विज्ञहरुले बताएका छन् ।

हिरासतमा लिएपछि उनको आँखामा दुई पटक संक्रमण भएको छ भने टाउको र बायाँ पाखुरामा कम्पन आउने समस्या देखिएको छ ।

रक्तअल्पताबाट पीडित उहाँकी पत्नी ‘अस्वस्थ र कमजोर’ हुनुहुन्छ भने उहाँको खुट्टा सुन्निएको विज्ञहरूले बताएका छन्।

सन् १९७० मा काबुलमा विवाह गरेका यी दम्पतीले अफगानिस्तानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका थिए ।

तालिवान अधिकारीहरूले उनीहरूलाई पक्राउ गर्नुको कारण बताउन अस्वीकार गरेका छन् तर यस मामिलासँग परिचित एक स्रोतले अप्रिलमा एएफपीलाई बताएअनुसार दम्पतीसँग धेरै गैर–इस्लामिक पुस्तकहरू थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *