देश

चितवन राष्ट्रिय निकुञ्जले एक वर्षमा दुई करोड राहत वितरण

चितवन। चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा जङ्गली जनावरबाट हुने क्षतिको परिपूर्ति स्वरूप स्थानीय बासिन्दालाई करीब दुई करोड रुपैयाँ राहत वितरण गरेको छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार ७२२ वटा घटनाका लागि कुल रु १ करोड ८२ लाख ६१ हजार ७७० राहत रकम वितरण गरिएको हो।

वन्यजन्तुको आक्रमणबाट सामान्य घाइते भएका ९ जनालाई रु ९३ हजार ८५२ र गम्भीर घाइते भएका ३२ जनालाई रु २९ लाख ७४ हजार ६८१ राहत प्रदान गरिएको छ। जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएका १० जनाको परिवारलाई रु १० लाखका दरले राहत दिइएको छ।

पशुधनको क्षतिका लागि १७२ घटनामा रु १७ लाख ४ हजार ७०० वितरण गरिएको छ। भण्डारण गरिएका अन्नमा १३ पटक क्षति पुगेकोमा रु ८३ हजार, घर तथा गोठमा २३ पटक क्षति पुगेकोमा रु २ लाख १८ हजार राहत रकम वितरण गरिएको हो।

त्यस्तै, अन्नबालीमा ४५३ पटक क्षति पुगेको तथ्यांकअनुसार निकुञ्जले रु ३१ लाख ६० हजार १०० राहत वितरण गरेको छ। कुखुरापालनमा भएका ७ घटनामा रु २७ हजार ५०० राहत दिइएको छ।

निकुञ्जले जनाएअनुसार गैँडा, बाघ, हात्ती, भालु, जङ्गली बँदेल र मगरगोही लगायतका जनावरले बस्ती पसेर बारम्बार क्षति पुर्‍याउँदै आएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *