काठमाडौं । रोजगारी दिलाइदिन्छु भन्दै आकर्षक प्रस्तावसहित युवायुवतीलाई फसाउने एक ठगी गिरोह पक्राउ परेको छ। वार्षिक शुल्क तिराएर नेटवर्किङमार्फत सदस्य थप्ने शैलीमा करोडौं रुपैयाँ असुली गर्ने उक्त गिरोहका ८ जना सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ। वीरेन्द्रनगर–३ मा सञ्चालनमा रहेका स्काई ड्रिम इन्टरप्रेनर्स र ग्लोबल ओरियन्स नेपाल नामक कम्पनीमार्फत बेरोजगार युवाहरूलाई रोजगारी दिने लोभ देखाएर रकम असुली गरिँदै आएको खुलेको हो।
प्रहरीका अनुसार, ती कम्पनीहरूले वार्षिक २० हजार रुपैयाँ तिर्नुपर्ने सर्तमा सदस्य बनाइन्थ्यो। त्यसपछि खाना, बास र कोठाको व्यवस्था गरिदिने भन्दै सदस्यहरूलाई नेटवर्किङमा संलग्न गराइन्थ्यो।
त्यो माध्यमबाट नयाँ सदस्य भित्र्याउन लगाइन्थ्यो, जसबाट प्रति सदस्य ५० हजारदेखि २ लाख ६० हजार रुपैयाँसम्म असुली गरिँदै आएको थियो।
पक्राउ परेकाहरूको विवरण
पक्राउ परेकामध्ये अधिकांश सुदूरपश्चिमका हुन्।
डोटी सायल गाउँपालिका–२ का नरेश बोहोरा (२६)
दार्चुला महाकाली गाउँपालिका–४ का कृष्ण धामी (२४)
अछाम कमलबजार नगरपालिका–६ का कमल शाही (२४) र रवीन्द्र शाही (२२)
कञ्चनपुर महाकाली नगरपालिका–२ की मनिषा सिंह (२२)
बेल्डाडी गाउँपालिका–१ की निर्मला धामी (२१)
बैतडी सिगास गाउँपालिका–६ की सुनिता साउद (२२)
डोटी बडिकेदार गाउँपालिका–४ की कमला चिमाला (२२)
प्रहरीले आवश्यक अनुसन्धान सुरु गरिसकेको जनाएको छ। आरोप पुष्टि भएमा उनीहरूविरुद्ध ठगीसम्बन्धी कानुनी कारबाही अघि बढाइनेछ।




