सुर्खेत।जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा भत्किएर पुनर्निर्माण हुन नसकेका बाँकी सरकारी संरचना निर्माण कार्य सुरु भएको छ। आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) जाजरकोटले जिल्लाका ३३ सरकारी कार्यालय निर्माण गर्न लागेको छ।
कार्यालय प्रमुख खडगबहादुर चौधरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २३ भवनको ठेक्का लागेकोमा १७ भवनको काम सुरु भएको थियो। चालु आवमा नौ कार्यालयको काम सुरु गर्न लागिएको उनले जानकारी दिए।
अघिल्लो आवमा अधिकांश काम सुरु गर्ने भनिए पनि केही योजना संशोधन गर्नुपर्ने भएकाले ढिला भएको उनले बताए। प्रमुख चौधरीले भने, ‘चालु आवमा बाँकी नौ वटाको काम सुरु हुनेछ। साउनभित्र प्राविधिक कुरा मिलाउँछौँ। थोरै जनशक्तिले पनि काम जारी राखेका छौँ।’
चालु आवमा जिल्ला अदालत, जाजरकोट दरबारलगायतको निर्माण कार्य अघि बढाइने उनले बताए। प्रदेशस्तरका कार्यालयसमेत भत्किएकाले यसबारे प्रदेश सरकारसँग छलफल भइरहेको प्रमुख चौधरीले बताए।
यस कार्यालयले जाजरकोट, रुकुमपश्चिम र सल्यानस्थित सरकारी कार्यालय निर्माण गर्ने जिम्मेवारी पाएको छ। भूकम्पले भत्किएका भौतिक संरचनाका कारण सेवा दिन समस्या भइरहेको समयमा आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) जाजरकोटले कामलाई तीव्रता दिएको छ।
प्रदेशले निर्माण गरेका संरचनामा ८० प्रतिशत प्रगति
प्रदेश सरकारले स्वास्थ्य संस्था र सरकारी विद्यालय निर्माणको काम थालेको छ। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले तीन जिल्लाका स्वास्थ्य संस्था र विद्यालय निर्माण कार्य अगाडि बढाएको थियो।
पूर्वाधार विकास कार्यालय मार्फत सरकारी स्वास्थ्य संस्था र विद्यालय निर्माणको काम सुरु भएको हो। आर्थिक वर्ष २०८१/८२ देखि नै विद्यालय र स्वास्थ्य संस्था निर्माणको काम थालिएको कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिए। जाजरकोटको बारेकोटमा पाँच विद्यालय, नलगाडमा चार, भेरीमा तीन, छेडागाडमा तीन, कुशेमा पाँच, शिवालयमा पाँच र जुनिचाँदेमा पाँच विद्यालयको निर्माण कार्य जारी छ।
त्यस्तै, स्वास्थ्य संस्थातर्फ बारेकोटमा दुई, नलगाडमा दुई, भेरीमा दुई, छेडागाडमा तीन र जुनिचाँदेमा दुई स्वास्थ्य संस्थाको काम प्रदेश सरकारले गर्दै आएको छ। ७० प्रतिशतको हाराहारीमा काम भएको पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख इन्जिनियर भूपेन्द्र जैसीले जानकारी दिए।
यस्तै, सल्यानको दार्मा गाउँपालिकामा चार विद्यालय तथा कुमाख र बागचौरमा एक-एक स्वास्थ्य संस्था निर्माण भइरहेको छ। पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख इन्जिनियर नविन थापाले ८० प्रतिशत काम भएको र बाँकी २० प्रतिशत काम दसैँसम्म पूरा हुने जानकारी दिए।
रुकुमपश्चिममा चौरजहारी नगरपालिकामा चार, बाँफिकोटमा तीन, त्रिवेणीमा पाँच, मुसीकोटमा चार, आठबीसकोटमा ६ र सानीभेरीमा पाँच विद्यालय तथा सानीभेरीमा दुई, आठबीसकोटमा दुई र चौरजहारीमा एक स्वास्थ्य संस्थाको निर्माण कार्य जारी छ।
यहाँको भौतिक प्रगति ८० प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी महेन्द्रबहादुर शाहीले जानकारी दिए। हालसम्म १६ करोड रूपैयाँको काम भएको कार्यालय प्रमुख रामचन्द्र विसीले जानकारी दिए।




