काठमाडौं । ठमेलस्थित एक होटलबाट दुई किलो सुन र २४ लाख रुपैयाँसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त सुन र नगद बरामद गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा चीनको सियाचिनकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन्। कार्यालयका सूचना अधिकारी एसपी काजीकुमार आचार्यका अनुसार, उनीहरूको साथबाट बरामद गरिएका सुन र नगदको विषयमा थप अनुसन्धान जारी छ।
यस्तै थप वैदेशिक रोजगारीका नाममा २१ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। गोरखाकी २९ वर्षीया जुनु रानाथापामगर र बर्दियाका ३३ वर्षीय सुदीपकुमार यादवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, जुनुले स्लोभाकिया पठाइदिने भन्दै ३ लाख १० हजार र सुदीपले सर्बिया पठाउने भन्दै १८ लाख ५४ हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए। पीडितहरूका उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। दुवै जनालाई वैदेशिक रोजगारसम्बन्धी थप अनुसन्धानका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।




