मुख्य समाचार

कुलिङ पिरियडबारे काँग्रेसको अडान, सम्झौता गर्न नसकिने प्रवक्ता महतको स्पष्टोक्ति

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संघीय निजामति सेवा विधेयकमा समावेश कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा कांग्रेसले सम्झौता गर्न नसक्ने स्पष्ट पारेका छन्।

काठमाडौंमा आयोजित बीपी स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभाबाट हटाइएको दुई वर्षे कुलिङ पिरियड पुनः लागू हुनुपर्ने बताए। राज्य व्यवस्था समितिबाट सर्वसम्मत पारित भई प्रतिनिधिसभामा पठाइएको विधेयकबाट कुलिङ पिरियड हटाइनु गलत भएको उनको भनाइ थियो।

“कुलिङ पिरियड समितिबाट सर्वसम्मत अघि बढेको हो, कांग्रेसले यसमा कम्परमाइज गर्न सक्दैन,” महतले भने, “यो व्यवस्था लागू हुनैपर्छ।”

उनले भूमि विधेयकलगायतका संवेदनशील विषयमा समेत समग्र छलफलमार्फत मात्र निष्कर्षमा पुग्नुपर्ने भन्दै कुनै पनि पक्षबाट एकलौटी निर्णय अस्वीकार्य हुने बताए।

महतले गठबन्धन सरकार सन्तुलनका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै नेपाली कांग्रेसको भनाइ, दृष्टिकोण र नियुक्ति प्रक्रियामा पेशागत क्षमता मुख्य मापदण्ड बन्नुपर्ने धारणा राखे।

उनले प्रधानमन्त्रीलाई नियुक्तिमा विशेष संवेदनशीलता अपनाउन आग्रह गर्दै नेपाली कांग्रेस सत्यको पक्षमा रहेको दाबी गरे। “झुटो बोलिरहेकै मान्छे सत्यझैं स्थापित भइरहेको अवस्था अस्वस्थ छ,” उनले भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *