काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ७० वर्षे उमेर सीमा हटाउने प्रस्तावसँगै जेल जीवनलाई कार्यकालबाट घटाउनुपर्ने तर्क अघि सारेपछि पूर्व नेता भीम रावलले कटाक्ष गरेका छन्।
एमाले परित्याग गरेर मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका रावलले सामाजिक सञ्जाल ‘एक्स’ ९त्धष्ततभच० मार्फत ओलीको अभिव्यक्तिलाई व्यङ्ग्यात्मक शैलीमा आलोचना गरेका हुन्।
रावलले लेखेका छन्, “एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भएछ। केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनुअघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि र?”
ओलीले उमेर सीमा हटाउनुका साथै आफू जेलमा रहेका १४ वर्षलाई गणनामा नलिनुपर्ने तर्क गरेका थिए। यसैलाई लक्षित गर्दै रावलले बाल्यकालदेखि बिरामी हुँदा आराम गरेको समयसम्मलाई पनि कार्यकालबाट घटाउने प्रस्ताव गर्नुपर्ने भन्दै व्यङ्ग्य गरेका हुन्।
एमालेभित्रै उमेर र कार्यकाल सीमा हटाउने विषयमा व्यापक बहस चर्किरहेका बेला रावलको यस्तो टिप्पणीले थप राजनीतिक तरंग ल्याएको छ।




