काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा ‘अहिराज’ बालिकामाथिको बलात्कार अभियोगमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, उनलाई आइतबार बिहान भद्रकाली क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। एसएसपी विश्व अधिकारीले झामाथि लामो समयदेखि अनुसन्धान चलिरहेको जानकारी दिए।
राजेश झाविरुद्ध माघ ३ गते नै बालिका बलात्कारको जाहेरी दर्ता भएको थियो। उजुरीपछि उनी भारततर्फ फरार भएका थिए। तर केही हप्तायता उनी काठमाडौंमै लुकेर बसिरहेको सूचना पाएपछि प्रहरीले निगरानी बढाएको थियो। अन्ततः भद्रकाली नजिकबाट उनलाई पक्राउ गरिएको हो।
उनले केही समय प्रदेश प्रमुखको जिम्मेवारीमा रहेका थिए । राजेश झा २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेश प्रदेशको प्रमुखको भूमिकामा थिए। सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिबाट यस्तो गम्भीर अपराधको आरोप लाग्नुले समाजमा व्यापक चासो र चिन्ता उत्पन्न गराएको छ। पक्राउ परेका झामाथि अब औपचारिक अनुसन्धान अघि बढ्ने प्रहरीले जनाएको छ।




