देश

रुपन्देहीमा सहकारी काण्ड : अध्यक्ष र सचिवविरुद्ध पक्राउ पुर्जी, १५ करोडभन्दा बढी अपचलनको आशंका

काठमाडौं । डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीमा ठूलो आर्थिक अपचलनको आरोपमा अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। उनीहरू नेपाली कांग्रेसका स्थानीय नेता हुन्।

तीन सयभन्दा बढी बचतकर्ताले ठगीको उजुरी दिएका थिए, जसपछि प्रहरीले व्यवस्थापक वसन्त पराजुलीलाई पनि पक्राउ गरी अनुसन्धान थालेको छ। पराजुलीमाथि करिब ९ करोड रुपैयाँको अनियमितता भएको कागज भेटिएको छ।

सहकारीमा एकै राजनीतिक दलका पदाधिकारीहरूको वर्चस्वले गर्दा नियमविपरीत ऋण प्रवाह र बचत अपचलन भएको दाबी गरिएको छ। लेखापरीक्षकको प्रतिवेदनपछि मात्रै वास्तविक अपचलन कति हो भन्ने यकिन हुने बताइएको छ।

बचतकर्ताहरूले दुई सातादेखि पदाधिकारीहरूको घर घेरी दबाब दिइरहेका छन्। अध्यक्ष र सचिव भने सम्पर्कविहीन छन्। अध्यक्षमाथि अष्ट्रेलियामा घर किनिएको र सचिवमाथि चुनढुंगा खानी र होटलमा लगानी गरेको आरोप छ।

२०५० सालमा स्थापना भएको यस सहकारीमा करिब २,००० सदस्य छन् र पूँजी ३८ करोड रुपैयाँ रहेको बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *