राजनीति

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

अत्तरिया (कैलाली)। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

मुक्तकमैया महिला विकास मञ्चले आज धनगढीमा आयोजना गरेको २५औँ कमैया मुक्ति दिवस कार्यक्रममा मुख्यमन्त्री शाहले भने, “मुक्तिको घोषणा भए पनि मुक्तकमैयाका थुपै्र समस्या छन् । यसको समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार एकजुट भएर अगाडि बढ्न जरुरी छ ।”

प्रदेश सरकारले बनाएको मुक्तकमैया, हलिया र कम्लरी पुनःस्थापना कार्यविधि पूर्ण रुपमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको मुख्यमन्त्री शाहको भनाइ थियो । उनले कार्यविधि कार्यान्वयनको पाटो निरन्तर अगाडि बढेको उल्लेख गर्दै कार्यविधि कार्यान्वयन गर्ने सन्दर्भमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । मुक्तकमैया, हलिया र कम्लरीको शिक्षा, स्वास्थ्य, रोजगारका लागि प्रदेश सरकारले सहयोग गर्ने उनले बताए । थारू, रानाथारू समुदायका विभिन्न संस्कृति, संस्कार, रीतिरिवाज जगेर्ना गर्न प्रदेश सरकार तत्पर रहेको उनको भनाइ थियो ।

तत्कालीन सरकारले २०५७ साउन २ गते बँधुवा मजदुरका रूपमा जमिनदारको घरमा काम गर्दै आएका कमैयालाई मुक्त भएको घोषणा गरेको थियो । कमैयामुक्ति घोषणाको लामो समय हुँदा पनि अझै केही मुक्तकमैयाको पुनःस्थापना हुन सकेको छैन् । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका गरी अझै दुई हजार ३७५ मुक्तकमैयाको पुनःस्थापना हुन नसकेको मुक्तकमैया महिला विकास मञ्चका कार्यक्रम संयोजक इन्द्र चौधरीले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा २५ हजार १९५ मुक्तकमैयाको मात्रै पुनःस्थापना भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *