कोशी प्रदेश

कोशीका सबै १४ जिल्लामा पूर्वाधार कार्यालय स्थापना , खोटाङको सदरमुकाम दिक्तेलमा मन्त्री राईद्धारा उद्घाटन

काठमाडौं । कोशी प्रदेश सरकारले अब भौतिक विकासका काम ‘जनताको घरदैलोमै’ पुर्‍याउने दाबी गरेको छ। प्रदेशका सबै १४ जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गरेर सरकारले विकासलाई पहुँचयोग्य बनाउने अभियान थालेको हो।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको इनरुवामा आयोजित कार्यक्रममार्फत यो अभियानको औपचारिक सुरुवात गरे। उनले भने, “अब प्रदेश सरकारको सेवा नागरिकले नजिकैबाट अनुभूति गर्न पाउनेछन्। पूर्वाधार योजनाहरू व्यवस्थित र परिणाममुखी हुनेछन्।”

कार्यालय स्थापनासँगै चालू आर्थिक वर्षका पूर्वाधार योजनाहरू असोजभित्र अगाडि बढाउन मुख्यमन्त्रीले निर्देशनसमेत दिएका छन्। असारे विकासको आलोचना झेल्दै आएको सरकार अब समयमै काम थाल्ने र योजनाको प्रभाव देखाउने पक्षमा देखिएको छ।

त्यस्तै, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले खोटाङको सदरमुकाम दिक्तेलमा कार्यालय उद्घाटन गर्दै खोटाङले “आज न्याय पाएको दिन” भएको टिप्पणी गरे। उनले भने, “अब खोटाङको भौतिक विकास यही कार्यालयमार्फत सञ्चालन हुनेछ।”

यसअघि कोशी प्रदेशमा केवल ९ वटा पूर्वाधारसम्बन्धी कार्यालय थिए, जसमा सहरी विकास र क्षेत्रीय पूर्वाधार कार्यालयहरू समावेश थिए। तर अब प्रत्येक जिल्लामा छुट्टै पूर्वाधार कार्यालय रहनेछ, जसले स्थानीयस्तरमै योजना निर्माण, कार्यान्वयन र अनुगमन गर्न सक्नेछ।

सोलुखुम्बुमा साउन २ गते, तेह्रथुममा ४ गते, र ताप्लेजुङमा ५ गते कार्यालय उद्घाटन हुने कार्यक्रम तय भएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *