बागमती प्रदेश

‘जेरो वेस्ट’ देखि बाल संरक्षण गृहसम्म : काठमाडौं महानगरको नयाँ नीति कार्यान्वयनमा बालेनले मागे सामूहिक प्रतिबद्धता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सबै तहको सामूहिक प्रतिबद्धता आवश्यक भएको बताएका छन्। आइतबार बसेको १७औँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले नगरवासी, निजी क्षेत्र, जनप्रतिनिधि र कर्मचारीहरूसँग सहकार्यको अपेक्षा व्यक्त गरे। बालेनले भने, “नीति तथा कार्यक्रम तथा बजेटलाई पूर्ण रुपमा कार्यान्वयन गर्न हामी सबैको साझा प्रतिबद्धता र सक्रियता जरुरी छ।”

बालबालिकाका लागि अस्थायी संरक्षण गृह
यस वर्षको नीतिमा जोखिममा परेका, हिंसा पीडित वा सडकमा बसोबास गर्न बाध्य बालबालिकाका लागि अस्थायी संरक्षण गृह स्थापना गरिने उल्लेख गरिएको छ। बालअधिकार सुनिश्चितता र उद्धार, संरक्षण तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउन यो कार्यक्रम ल्याइएको हो।

महानगरले ‘एक वडा, एक उत्पादन’ नीतिलाई परिष्कृत गर्दै नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने योजना अघि सारेको छ। यस अन्तर्गत बिउ पूँजी अनुदान, इन्कुबेसन केन्द्र स्थापना र सहकारी प्रणाली सुधार गरिनेछ। ‘जेरो वेस्ट सिटी’ अभियान अन्तर्गत स्रोतमै फोहोर छुट्याउने,फोहोरबाट ऊर्जा उत्पादन गर्ने पुनः प्रयोग केन्द्र निर्माण र शहरी वनको अवधारणा लागू गरिनेछ। यसबाट काठमाडौंलाई हरित, सफा र जलवायु प्रतिरोधी शहरमा रूपान्तरण गर्ने लक्ष्य लिइएको महानगरले जनाएको छ।

काठमाडौं महानगरको नीति तथा कार्यक्रम बजेटसहितको योजनामा आधारित छ, जसको कार्यान्वयनका लागि नगरप्रमुखले सबै पक्षको साथ र सक्रियता मागेका छन्। अब चुनौती कार्यान्वयनकै हो — घोषणा मात्रै नभई व्यवहारमै उतार्न सकिन्छ कि सकिँदैन ?

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *