कोशी प्रदेश

हर्क साम्पाङका समर्थकबाट पत्रकारमाथि दुर्व्यवहार, प्रहरीमा उजुरी

काठमाडौं । मेयर हर्क साम्पाङका समर्थकहरूले समाचार संकलनमा खटिएका पत्रकारहरूमाथि दुर्व्यवहार गरेका छन्। धरान–५ र १५ का स्थानीयबासीबीचको विवाद कभर गर्न पुगेका पत्रकारहरूलाई दुव्र्यवहार भएपछि इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ।

बिहीबार नेपाल पत्रकार महासंघका सदस्य तथा कोले न्यूज डटकमका सञ्चालक रोहित कुलुङ राई, कपुरी न्यूजकी रश्मि प्रधान र पत्रकार डेबिट बस्नेतमाथि दुर्व्यवहार भएको हो। सेउती खोलामा बाढी च्यानलिङ गर्न जेसीभी लगाएर काम गर्दै गरेका मेयर साम्पाङको पहलमा दुई वडाका बासिन्दाबीच विवाद उत्पन्न भएको थियो। सोही विवादलाई कभर गर्न पुगेका पत्रकारहरूलाई भिडिओ खिचेको भन्दै गालीगलौज र दुर्व्यवहार गरियो।

पत्रकार कुलुङ राईले भने, “एक जना व्यक्तिले कानमै आएर भिडिओ किन खिचेको भनेर गाली गरे, अनि महिलाहरूलाई बोलाएर हामीमाथि दुर्व्यवहार गरियो।” दुर्व्यवहारमा संलग्न भएको आरोप कवि याक्खा (धरान–५, अन्दाजी ३५ वर्ष), मणिराज राई (धरान–५, करिब ५५ वर्ष) र परिचय नखुलेका दुई महिलामाथि लागेको छ।

नेपाल पत्रकार महासंघ, सुनसरी शाखाले विज्ञप्ति निकालेर घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ र दोषीमाथि छानबिन तथा कारबाहीको माग गरेको छ। जनप्रतिनिधिको काम पारदर्शिता र जवाफदेहिता बढाउनु हो, डर र दुर्व्यवहार होइन। पत्रकारमाथि भएको यस्तो व्यवहारले स्थानीय तहमा सूचना संकलन गर्न खोज्ने स्वतन्त्र प्रेसमाथि प्रश्न उठाएको छ। अब प्रहरी र स्थानीय प्रशासनले निष्पक्ष कारबाही गर्छ कि चुप लाग्छ ?यो परीक्षणको घडी हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *