देश

बालेनले बोलाए कार्यपालिका बैठक, बजेट पास गर्ने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक आह्वान गरेका छन्। महानगरको नीति, कार्यक्रम र बजेट अगाडि बढाउने उद्देश्यसहित बैठक बोलाइएको हो।

मेयरको सचिवालयका अनुसार कार्यपालिकाको बैठकभन्दा अगाडि, बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ। त्यसपछि उपमेयर सुनिता डंगोलको नेतृत्वमा बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठकसमेत बस्ने कार्यक्रम छ।

महानगर स्रोतका अनुसार कानुनी प्रक्रिया पूरा भएमा कार्यपालिका बैठकले सोही दिन नीति तथा कार्यक्रम तथा बजेट नगर सभामा पेस गर्ने निर्णय लिनेछ। सोही बैठकले नगर सभाको मिति तोकी असार मसान्तभित्रै बजेट पारित गर्ने तयारी गरिरहेको जनाइएको छ।

यसअघि प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका कारण महानगरको बजेट तयारीमा ढिलाइ हुँदै आएको थियो। अब भने प्रक्रियागत तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *