काठमाडौं। गत मंगलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोला (भोटेकोशी) मा आएको बाढीको कारण हिमताल विस्फोट नै रहेको जल तथा मौसम विज्ञान विभागले प्रारम्भिक निष्कर्ष निकालेको छ।
विभागले ’सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी सिर्जना भएको जनाएको छ। विभागका बाढीविद् विनोद पराजुलीले ’सुप्राग्लेशियल’ ताल फुटेर बाढी आएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए।
“रसुवागढीस्थित नेपाल–चीन सीमाबाट करीब ३६ किलोमिटरमाथि (अक्षांशः २८.४०४३, देशान्तरः ८५.६४६९, समुद्री सतहदेखि करिब ५१५० मिटर उचाइ) ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा पर्दछ,” पराजुलीले भने, “हिम नदीको करिब बीच भूभागमा विकास भएको सुप्राग्लेशियल ताल (हिमताल) करिब ०.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको देखिन्छ।”
उनका अनुसार, बाढीको घटना हुनुअघि र घटना भइसकेपछिको तालको क्षेत्रफलमा परिवर्तन भएको देखिएको छ। “उक्त हिमतालको क्षेत्रफल करिब ०.६० वर्ग किलोमिटर मात्र देखिएको छ। अध्ययनले उक्त समयावधिमा तालबाट पानी निकास भएको र त्यसको प्रभाव तालको तलको क्षेत्रमा परेको देखिएको छ,” पराजुलीले थपे।
पराजुलीका अनुसार यस सम्बन्धमा मित्रराष्ट्र चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको छ। साथै, आगामी दिनमा भू–उपग्रहमार्फत प्राप्त हुन सक्ने अन्य तस्बिरहरूले थप पुष्ट्याइँ दिन सक्नेछन्। जल तथा मौसम विज्ञान विभागले यस विषयमा निरन्तर अध्ययन जारी राख्ने उनको भनाइ छ। “बाढी पूर्व र बाढीपछिको अवस्थाबीच उल्लेखनीय अन्तर देखिएको र विशेष गरी तालको क्षेत्रफल उल्लेख्य रूपमा घटेको देखिएको छ, जसअनुसार उक्त हिमतालबाट पानी निकास भएको देखिन्छ,” उनले भने।
यसअघि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिकहरूले पनि चीन–नेपाल सीमाको ल्हेन्दे खोलामा बनेको सुप्राग्लेशियल ताल फुटेर रसुवाको भोटेकोशीमा बाढी आएको पुष्टि गरेका थिए।




