काठमाडौँ।जापान सरकारले मानव संसाधन विकास छात्रवृत्ति कार्यक्रमअन्तर्गत नेपाललाई ५३७ मिलियन नेपाली रुपैयाँ बराबरको अनुदान प्रदान गरेको छ। जापान सरकारको सन् २०२५ का लागि आर्थिक सहयोगमा यो अनुदान प्राप्त भएको हो।
आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा जापानी राजदूत तोरु मोदा र नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले विनिमय पत्रमा हस्ताक्षर गरे। समारोहमा दुई देशबीच विनिमय पत्र तथा अनुदान सम्झौतामा पनि हस्ताक्षर भएको छ।
अनुदानस्वरूप प्राप्त ५७२ मिलियन जापानी येन बराबरको रकम स्नातकोत्तर तहका २० जना र विद्यावारिधि तहका दुई जना विद्यार्थीका लागि खर्च गरिनेछ। यो रकम विश्वविद्यालय शुल्क, जीविकोपार्जन खर्च, यात्रा भत्ता, बिमा तथा शैक्षिक सामग्रीमा प्रयोग गरिनेछ।
सम्झौतापछि सचिव उपाध्यायले जेडिएस कार्यक्रमले नेपालका निजामती कर्मचारीको क्षमता विकासमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै भविष्यमा पनि यस कार्यक्रमले थप सहयोग पुर्याउने विश्वास व्यक्त गरे। जापानमा अध्ययनबाट प्राप्त ज्ञानले सार्वजनिक सेवा सुधार र समग्र विकासमा टेवा पुग्ने उनको भनाइ थियो।
जापानी राजदूत मोदाले जेडिएस कार्यक्रम अन्तर्गत अध्ययन गरेका कर्मचारीहरूले नेपालको विकासमा प्रभावकारी भूमिका खेल्ने उल्लेख गर्दै यो कार्यक्रमले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे।
सन् २०१५ देखि सञ्चालनमा आएको जेडिएस कार्यक्रमअन्तर्गत हालसम्म १४२ जना नेपाली निजामती सेवाका कर्मचारीले अध्ययन गरिसकेका छन्। तीमध्ये १४० जनाले स्नातकोत्तर र दुई जनाले विद्यावारिधि जापानका प्रतिष्ठित शैक्षिक संस्थाबाट पूरा गरेका छन्।




