देश

असारे विकासको प्रवृत्ति अन्त्य गर्न सांसदको जोड

काठमाडौं । सांसद विष्णुदेवी पुडासैनीले असारे विकासको प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिइन् । आज राष्ट्रियसभाको बैठकमा उनले असारको समयमा पूर्वाधार निर्माण हतार गर्दा गुणस्तर नहुने भएकाले मनसुन लागेपछि गरिने विकास रोक्नुपर्ने बताइन् ।

‘वर्षाको समयमा सडक निर्माण गर्दा दुर्घटना बढ्ने र गुणस्तरहीन पूर्वाधार निर्माण हुने भएकाले मनसुन सुरु भएपछि हतार हुने निर्माण कार्य रोकिनुपर्छ,’ सांसद पुडासैनीले भनिन् ।

उनले रसुवामा आज बिहान ३ बजे आएको बाढीबाट घाइतेहरूको तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरिन् ।

मुलुकमा आत्मनिर्भरता बढाउनुपर्ने, रोजगारी सिर्जना गरी युवा पलायन रोक्नुपर्ने उनको भनाइ छ ।

सांसद गङ्गाकुमारी बेल्बासेले पनि रसुवामा आएको बाढीले घाइते भएकाको तत्काल उद्धार र राहत व्यवस्थापनका लागि पहल गर्न सरकारलाई आग्रह गरिन् । उनले प्रदेश सरकारले आर्थिक रूपमा सबल हुन ठोस कदम चाल्नुपर्नेमा जोड दिइन् ।

सांसद तुलसाकुमारी दाहालले संविधानमा उल्लेख गरिएका मौलिक हक कार्यान्वयनका लागि बनेका ऐनहरूको नियमावली नबन्दा कार्यान्वयनमा कठिनाइ आएकाले यस विषयमा तत्काल छलफल आवश्यक रहेको बताइन् । ‘आवासको हक कार्यान्वयनका लागि विधेयकको मस्यौदा तयार भएको छ । अब समयमा नै स्वीकृत गरेर कार्यान्वयनमा जानुपर्छ,’ दाहालले भनिन्, ‘जनस्वास्थ्यसँग सम्बन्धित ऐनहरूलाई संविधान अनुकूल बनाउने प्रक्रिया अघि बढाउन आवश्यक छ ।’

सांसद दाहालले मुलुकमा काठजन्य वस्तुको आयात भइरहेकाले अब काठमा आत्मनिर्भरता हासिल गर्नुपर्नेमा जोड दिइन् । उनले विश्वविद्यालयहरूको सञ्चालनमा एकरूपता ल्याई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराइन् ।

सांसदहरूले मनसुनजन्य विपद् व्यवस्थापन, पूर्वाधारको दीर्घकालीन योजना, शिक्षा तथा रोजगारीमा ध्यान दिनु मुलुकको दीर्घकालीन हितमा हुने धारणा राखिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *