काठमाडौं । राजधानीको बौद्ध नयाँबस्तीबाट डेढ करोड रुपैयाँसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्ने व्यक्ति ४० वर्षीय वाङ जियान हुन्, जो स्वयम्भूमा भाडामा बस्दै आएका थिए।
प्रहरीले स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचना पाएपछि खोजतलास गर्दै गरेको अवस्थामा सोमबार उनलाई पक्राउ गरेको हो।
उनको साथबाट १ करोड ४४ लाख रुपैयाँ नगद र ईजी २२१६७१ नम्बरको चिनियाँ पासपोर्ट बरामद गरिएको छ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।




