देश

थाहा नगरपालिकामा अक्सिजन प्लान्टमा अनियमितता : १ करोड १० लाखको भ्रष्टाचार आरोपमा ६ जनाविरुद्ध मुद्दा

काठमाडौं । मकवानपुरको थाहा नगरपालिकामा अक्सिजन जेनेरेसन प्लान्ट खरिद प्रक्रियामा करोडौंको भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार, संघीय र प्रदेश सरकारबाट प्राप्त १ करोड ५५ लाख रुपैयाँ बराबरको बजेटमा प्राविधिक मापदण्ड विपरीत प्रविधि छनोट गरी योजना ‘सेटिङ’ गरेर अघि बढाइएको थियो।

के छ आरोपपत्रमा
विशेष अदालतमा दायर मुद्दामा नाम परेकाहरू :

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी

तत्कालीन लेखा अधिकृत हरिबहादुर खपाङ्गी मगर

इन्जिनियर सन्तोष बोहरा

सहायक सुदर्शन पहेली

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका बायोमेडिकल इन्जिनियर राजेश्वर कमली

सुभारम्भ सर्भिस ट्रेडर्स प्रालि तथा प्रोप्राइटर सोबित प्रसाई रहेका छन् ।

आरोपपत्रअनुसार, यी सबै मिलेर कम गुणस्तरको र मापदण्डविपरीतको प्रविधि छानिएको, झुटा कागजात प्रस्तुत गरिएको र १ करोड १० लाख रुपैयाँभन्दा बढीको खरिद सम्झौता गरिएको हो। सम्झौता पश्चात १२ लाख रुपैयाँ अग्रिम भुक्तानी समेत गरिएको उल्लेख छ।

अख्तियारका अनुसार, सार्वजनिक खरिद ऐन र प्राविधिक मापदण्ड उलङ्घन गर्दै सुभारम्भ सर्भिस ट्रेडर्सलाई योजना दिइयो। मूल्याङ्कन प्रक्रियामै सेटिङ गरिएको देखिएको आयोगको निष्कर्ष छ। प्लान्ट नगरपालिकामा दाखिला भए पनि त्यसले न त मापदण्ड पूरा गरेको छ, न नै प्राविधिक मूल्याङ्कनमा पारदर्शिता देखिएको आयोगको भनाइ छ।

छानबिनपछि अख्तियारले यी सबै व्यक्तिहरूमाथि सार्वजनिक पदको दुरुपयोग,झुटा कागजात पेश,प्राविधिक मूल्याङ्कनमा बेइमानी,भ्रष्टाचारसम्बन्धी कानुन उल्लंघनको अभियोग लगाउँदै कडा कारबाहीको मागसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *