देश

पर्सामा मुस्लिम समुदायद्वारा मोहर्रम पर्व भव्य रूपमा मनाइँदै

वीरगञ्ज (पर्सा)। मुस्लिम समुदायले इस्लामिक नयाँ वर्षको अवसरमा पर्सा जिल्लामा मोहर्रम पर्व श्रद्धा, उत्साह र परम्परागत शैलीमा मनाइरहेका छन्।

वीरगञ्ज महानगरका विभिन्न क्षेत्रबाट आएका मुस्लिम युवाहरूले घण्टाघर चोकमा भेला भई लाठ्ठीमार्फत सांस्कृतिक एवं परम्परागत कलाहरू प्रस्तुत गरेका छन्।

नेपाल मुस्लिम समाज संघका उपसचिव अलिअस्गर अन्सारीका अनुसार विगतमा हातहतियारका कौशल देखाएर मनाइने मोहर्रम पर्व हाल प्रशासनको आग्रहअनुसार लाठ्ठीका कलामार्फत शान्तिपूर्ण ढंगले मनाइँदै आएको हो।

“हामीले प्रशासनसँगको सहकार्यमा पर्वलाई शान्तिपूर्ण रूपमा लाठ्ठी कला र झाँकीसहित मनाइरहेका छौँ। यो कार्यक्रम बेलुकासम्म जारी रहनेछ,” उपसचिव अन्सारीले बताए।

कार्यक्रममा मुस्लिम समुदायले नेपालको राष्ट्रिय झण्डा र आफ्नो कला–संस्कृति झल्काउने झण्डासहित सहभागिता जनाएका छन्। साथै, घोडा सवार प्रस्तुतिहरूले उत्सवमा थप रौनकता थपेका छन्।

मोहर्रम पर्व इस्लामिक नयाँ वर्ष हिजरी संवत् सुरु भएपछि पहिलोदेखि दशौं दिनसम्म मनाइन्छ। विशेषतः १०औं दिन मुस्लिम समुदायले तहाजियालाई करबलासम्म लिएर सेलाउने परम्परा रहेको छ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख गौतम मिश्रले पर्व मर्यादित र शान्तिपूर्ण ढंगले मनाउन आग्रह गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *