काठमाडौँ। बहुगुणले युक्त वनस्पति तुलसी कीटाणुनाशक भएकाले घरको मूलढोकामा हावा आउने गरी मठ बनाएर रोप्ने वैदिक सनातनी हिन्दू परम्परा रहेको छ।
प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा मठमा सारेर विशेष पूजा आराधना सुरु गरिन्छ, जुन कार्तिक शुक्ल एकादशीसम्म चार महिनासम्म चल्ने गर्छ। यस परम्पराको थालनी आजदेखि भएको हो।
आयुर्वेद क्षेत्रमा लामो समयदेखि क्रियाशील डा. वंशदीप शर्मा खरेलका अनुसार तुलसीको वैज्ञानिक र औषधीय गुणका कारण हाम्रो समाजमा यसको पूजा आराधनाको परम्परा बसालिएको हो। सिंहदरबार वैद्यखाना विकास समितिको प्रबन्ध निर्देशकका रूपमा कार्यरत रहँदा उनले तुलसीको चिया उत्पादनलाई निरन्तरता दिएको जानकारी गराए।
उनका अनुसार, “तुलसीको चियाले शरीरभित्रका कीटाणु नष्ट गरी स्वास्थ्य सुधार गर्छ। कोरोना महामारीका बेला तुलसी, सुठो, पिप्पली, मरिच, त्रिकटुलाई काँडापानी बनाएर सेवन गर्दा सकारात्मक प्रभाव परेको छ।”
त्यसैगरी, अमृताको रूपमा परिचित गुर्जो पनि धेरै रोगका लागि लाभदायक रहेको उनले बताए। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीक मानिन्छ।
धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिन्छ। विष्णु शयन गर्ने चार महिनालाई चातुर्मास भनिन्छ। यस वर्ष साउनमा अधिकमास परेकाले चान्द्रमास अनुसार चातुर्मास पाँच महिना हुने भएको छ।
उनका अनुसार, “सामान्यतया एक वर्षमा २४ एकादशी पर्छन् तर अधिकमास परेको वर्षमा २६ वटा एकादशी पर्छन्। सक्नेले सबै एकादशीमा फलाहार गरेर व्रत बस्छन् भने नसक्नेले चातुर्मासका आठ एकादशीमा मात्र व्रत बस्ने गर्छन्।”
चार महिनासम्म निरन्तर व्रत बस्न नसक्नेहरू कम्तीमा हरिशयनी एकादशी र हरिबोधिनी एकादशीमा व्रत बस्ने प्रचलन रहेको छ। यी दुईलाई “ठूला एकादशी” का रूपमा पनि चिनिन्छ।
आजको दिन राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका विष्णु मन्दिरहरूमा श्रद्धालुहरूको भीड देखिएको छ। चातुर्मास अवधिभर नारायण मन्दिरहरूमा भक्तजनको घुइँचो लाग्ने गर्छ।
एकादशीको दिन विशेषगरी चामलजन्य परिकार नखाई रोटी, ढिँडो तथा फलाहार मात्र गर्ने परम्परा छ। वैज्ञानिक रूपमा बढी अक्सिजन उत्सर्जन गर्ने तुलसी विभिन्न रोगहरूको उपचारमा उपयोगी छ। तुलसीको मठ भएको स्थानमा रोग फैलाउने विषालु कीटाणु नआउने विश्वास गरिन्छ। साथै, वास्तु दोष निवारणका लागि पनि तुलसीको मठ लाभदायक मानिन्छ।
चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएपछि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन तुलसीको विवाह भगवान् दामोदरसँग गराउने वैदिक विधि रहिआएको छ। विवाहपश्चात अग्नि स्थापनासहित चातुर्मास व्रतको समापन (उद्यापन) गरिन्छ। उद्यापन मार्गशीर्ष कृष्ण पञ्चमी भित्र जुराउनुपर्ने र त्यसपछि अग्नि स्थापना भएका दिन हवन गरी व्रत समापन गर्ने परम्परा रहेको धर्मशास्त्रविद् भट्टराईले बताए।




