देश

मनसुनको हावापानीको अवस्था अद्यावधिकः मधेस प्रदेशको दक्षिण भूभागमा कम वर्षा हुने

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले जुलाईदेखि सेप्टेम्बर (असार १७ देखि असोज १४) सम्मको तीन महिनाको अद्यावधिक मनसुन पूर्वानुमान सार्वजनिक गरेको छ। नयाँ आकलन अनुसार मधेस प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना देखिएको छ।

विभागका सूचना अधिकारी दिनाकर कायस्थका अनुसार कोशी प्रदेशका दक्षिणी भूभागमा सरदर वर्षा र देशका अन्य अधिकांश भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ।

अघिल्लो पूर्वानुमान अनुसार जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन अवधिमा देशभर सरदरभन्दा बढी वर्षा हुने र अधिकतम तथा न्यूनतम तापक्रम पनि सामान्यभन्दा बढी हुने अनुमान गरिएको थियो।

नयाँ आकलन अनुसार कर्णालीको पूर्वी भूभाग, लुम्बिनीको उत्तरी भाग र गण्डकीको अधिकांश भूभागमा ५५–६५ प्रतिशत सम्भावनाका साथ सरदरभन्दा बढी वर्षा हुने छ। यस्तै सुदूरपश्चिमको दक्षिणी भाग, लुम्बिनीको पश्चिमी भाग, गण्डकीको उत्तरपूर्वी क्षेत्र, बागमती र कोशीको उत्तरी भूभागमा ४५–५५ प्रतिशत सम्भावनाका साथ बढी वर्षा हुने अनुमान गरिएको छ।

सुदूरपश्चिमको उत्तरी भाग, लुम्बिनीको दक्षिणपूर्वी, बागमतीको दक्षिणी तथा कोशीको मध्य भूभागमा ३५–४५ प्रतिशत सम्भावनाका साथ सरदरभन्दा बढी वर्षा हुने उल्लेख गरिएको छ। कोशीको दक्षिणी भूभागमा सरदर बराबरको वर्षा हुने सम्भावना छ भने मधेस प्रदेशको मध्य तथा पूर्वी भूभागमा वर्षा सामान्यभन्दा कम हुने सम्भावना ३५–४५ प्रतिशत रहेको छ।

यो आकलन विश्व मौसम संगठन तथा दक्षिण एशियाली क्षेत्रीय जलवायु पूर्वानुमान फोरमका डेटा, पूर्वी प्रशान्तमा विकसित एल्निनो, दक्षिणी महासागरको ओसिलिएसन, हिन्द महासागरको इन्डियन ओसन डिपोल, र युरोप–एसियाको हिउँको अवस्था लगायत अन्तरराष्ट्रीय पूर्वानुमान स्रोतका आधारमा गरिएको विभागले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *