खेलकुद

पोर्चुगिज फुटबलर डिओगो जोटाको निधन

काठमाडौँ । इंग्लिस क्लब लिभरपुल र पोर्चुगल राष्ट्रिय टोलीका चर्चित फुटबलर डियागो जोटाको कार दुर्घटनामा निधन भएको छ। स्पेनको जामोरा नजिकै भएको उक्त दुर्घटनामा जोटा र उनका भाइ आन्द्रे दुवैको मृत्यु भएको हो।

स्पेनिस टेलिभिजन च्यानललाई उद्धृत गर्दै रोयटर्सले जनाएको अनुसार, दुर्घटनापछि दुवैलाई मोम्बेयु हेल्थ केयरमा लगिएको थियो, तर उपचारका क्रममा उनीहरूको निधन पुष्टि भएको यूएमई (मेडिकल इमर्जेन्सी युनिट) ले जनाएको छ।

 

२८ वर्षीय जोटाले दुई हप्ता अगाडि मात्रै प्रेमिका रुट कार्डोसोसँग पोर्टोमा विवाह गरेका थिए।जोटाले सन् २०२० मा इंग्लिस क्लब लिभरपुलसँग अनुबन्धन गरेका थिए। त्यसअघि उनी सन् २०१८ देखि २०२० सम्म वुल्भरह्याम्प्टन वान्डर्स (वुल्भ्स) बाट खेलेका थिए। क्लब करियरमा जोटाले लिभरपुलका लागि १२३ खेलमा ४७ गोल गरेका थिए।

सन् २०१९ मा पोर्चुगल राष्ट्रिय टोलीबाट डेब्यू गरेका जोटा त्यसयता नियमित सदस्यका रूपमा मैदान उत्रँदै आएका थिए। राष्ट्रिय टोलीका लागि उनले ४९ खेलमा १४ गोल गरेका थिए।

फुटबल जगतले जोटाको असामयिक निधनलाई गहिरो शोकका रूपमा लिएको छ। क्लब, साथी खेलाडी र फ्यानहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *