काठमाडौं । पत्रकार दिलभूषण पाठक अदालतमा उपस्थित भएसँगै उनको बयान र थुनछेक बहस आजै हुने भएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश खेमराज भट्टको इजलासमा पत्रकार पाठकको बयान र थुनछेक बहस हुने अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । उनीविरूद्ध जिल्ला सरकारी वकिल कार्यलय काठमाडौंले साइबर अपराधमा मुद्दा दर्ता गरेको थियो । यसबारेमा इजलासमा उनको बयान लिइनेछ । बयान लगत्तै थुनछेक बहस सुरू हुनेछ । थुनछेक बहस सकिएपछि थुनामा पठाउने कि बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने पाउने भन्नेबारे अदालतले आदेश गर्नेछ ।
पाठकविरूद्ध सोमबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलले साइबर अपराधको मुद्दा दर्ता गरेको थियो । त्यसअघि नेपाल प्रहरीको साइबर ब्युरोले असार १३ गते जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । पाठकलाई पक्राउ नगरी उनीविरूद्ध मुद्दा दर्ता गरिएको थियो । गत जेठ २८ गते उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो ।




