खेलकुद

सेमिफाइनलमा नेपालले पायो ९१ रनको सामान्य लक्ष्य

काठमाडौं । नेपालले एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा आफ्नो अपराजित यात्रा र उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएकाे छ । सेमिफाइनलमा नेपाली बलरहरूको आक्रमणसामु घरेलु टोली मलेसिया ९० रनमै समेटिएपछि नेपाल फाइनल प्रवेशको संघारमा पुगेको हो ।

मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ४३.१ ओभरमा अलआउट हुनुअघि मलेसियाले केवल ९० रनको सामान्य योगफल बनायो । उसका लागि मोहम्मद फतुलले ७१ बलमा सर्वाधिक ३८ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । कप्तान डिज पार्तोले १० रन जोडे भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

नेपालका लागि अभय यादवले सर्वाधिक ४ विकेट लिए । उनलाई शुभम खनालले ३ विकेट लिएर उत्कृष्ट साथ दिए । कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टको नाममा पनि एक-एक विकेट रह्यो ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ को विजेता बन्दै अपराजित रहेर सेमिफाइनलमा प्रवेश गरेको थियो भने मलेसिया समूह ‘बी’ को उपविजेता थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *