काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा ३४ दिनदेखि जारी तालाबन्दी खुलाउन सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश जारी गरेको छ। अदालतले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी वृत्त कीर्तिपुरलाई तालाबन्दी नगर्नु/नगराउनु र लगाइएको भए खोल्नु/खोलाउनु भनी आदेश दिएको हो।
सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले यस्तो आदेश दिएको त्रिविका कानुनी सल्लाहकार नारायण खनालले जानकारी दिए।
रिट कसले दायर गरे?
तालाबन्दी खुलाउन माग गर्दै अधिवक्ता महेश भट्टराईलगायतले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। रिटमा गृह मन्त्रालय, प्रहरी प्रमुख, जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रहरी वृत्त कीर्तिपुर, उपकुलपति, रजिष्ट्रार कार्यालयसहित प्राध्यापक र विद्यार्थी संगठनका पदाधिकारीहरूलाई विपक्षी बनाइएको थियो।
तालाबन्दी कसले गरे?
जेठ १४ गते नेविसंघसम्बद्ध केही स्ववियु पदाधिकारीहरूले उपकुलपति कार्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेका थिए। त्यसपछि जेठ ३० गते त्रिवि आंशिक प्राध्यापक संघले रेक्टर, रजिष्ट्रार र सेवा आयोग कार्यालयमा पनि तालाबन्दी गरेको थियो।
हालसम्म नेविसंघ केन्द्रीय समिति र स्ववियु निर्वाचितहरुले तालाबन्दीको आधिकारिक जिम्मेवारी नलिए पनि, प्राध्यापक संघले भने जिम्मेवारी लिँदै पदाधिकारीहरूलाई कार्यालय आउन–जान रोक्दै आएको छ।




