देश

एमाले केन्द्रीय सदस्यसमेत रहेका मिश्र बैंक घोटालामा जेल यात्रा, २ अर्ब ५० करोडको अपचलन आरोप

काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणले अब राजनीतिक तहसम्म पुर्‍याएको छ। बुधबार पक्राउ परेका पशुपति दयाल मिश्र नेकपा एमालेका केन्द्रीय सदस्य रहेको खुलेपछि प्रकरणले नयाँ मोड लिएको छ। पूर्व जिविस सभापति तथा एमालेको टिकटमा नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरिसकेका मिश्र विगतमा बाँके–२ बाट प्रतिनिधिसभा निर्वाचनमा पनि उठेका थिए। उनी मधेश आन्दोलनबाट उदाएका नेता हुन्। २०७४ मा स्वतन्त्र समूहबाट सूर्य चिन्ह लिएर चुनाव लडेका उनी पछि एमालेमा प्रवेश गरे।

मिश्रलाई नेपालगञ्जबाट पक्राउ गरिएको हो। उनलाई सीआईबीको टोलीले बाँकेमा राखेर अनुसन्धान अघि बढाएको छ। उनीसँगै हालसम्म यस प्रकरणमा ३ जना पक्राउ परिसकेका छन् — पूर्व सीईओ राजेन्द्रवीर राय र वित् प्रमुख देवप्रकाश सिंह ठकुरीसहित।

कर्णाली विकास बैंकमा २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको उजुरीपछि सुरु भएको अनुसन्धानले बैंकको नेतृत्व तहका व्यक्तिहरूको संलग्नता उजागर गर्दै गएको छ। स्रोतका अनुसार, संस्थापक अध्यक्ष राजेन्द्रवीर रायसँग मात्र करिब ८० प्रतिशत संस्थापक सेयर थियो। राय करिब १५ वर्षसम्म बैंक सञ्चालनको नेतृत्वमा थिए। बैंक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा बनेको छानबिन समितिले “ठूलो वित्तीय अपचलन भएको” ठहर गरिसकेको छ।

मिश्रजस्ता राजनीतिक हैसियत भएका व्यक्ति पक्राउ पर्दा, यस घोटालाको प्रकृति केवल बैंकिङ कुशासनमा सीमित नदेखिएको स्पष्ट हुन्छ। अब यो मुद्दा सीप, सञ्जाल र सत्ता प्रयोग गरेर भएको सुनियोजित ठगीको अनुसन्धानमा परिणत भएको छ। राजनीति र पूँजीको गठजोडले बनाएको संरचना भत्काउन अब सीआईबीको निष्पक्षता र न्याय प्रणालीको दृढता परीक्षणमा छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *