काठमाडौं। इरान–इजरायल युद्धपछि अब अर्को युद्ध समाप्त हुन लागेको छ अर्थात गाजामा युद्धविराम हुन लागेको हो ।
इजरायल शान्तिका लागि सहमत भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामका सर्तहरूमा सहमति जनाएको दाबी गरेका हुन् ।
ट्रम्पले हमासलाई अवस्था बिग्रनु अघि नै सम्झौता स्वीकार गर्न चेतावनी दिएका छन् । यसको अर्थ गाजामा ६० दिने युद्धविरामको बारेमा अब सबै कुरा हमासमा निर्भर छ ।
ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमा भने, “मेरा प्रतिनिधिहरूले आज गाजामा इजरायलीहरूसँग लामो र उत्पादक बैठक गरे । इजरायलले ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको छ । यी ६० दिनहरूमा हामी इजरायल–हमास युद्ध अन्त्य गर्न सबै पक्षहरूसँग काम गर्नेछौँ ।”
ट्रम्पका अनुसार कतार र इजिप्टले युद्धविरामको अन्तिम प्रस्ताव प्रस्तुत गर्नेछ । ट्रम्पले भनेका छन्, “मलाई आशा छ कि हमासले मध्य पूर्वको भलाइको लागि यो सम्झौता स्वीकार गर्नेछ, किनकि यसले स्थिति सुधार गर्दैन । यो झन् खराब हुनेछ ।”




