भरतपुर।चितवनको भरतपुर–२२ पटिहानीमा परियार समुदायको नेपालकै पहिलो सङ्ग्रहालय निर्माण हुने भएको छ। परियार एकता समाज चितवनको अगुवाइमा करिब दुई करोड रुपैयाँ लागतमा निर्माण हुने सङ्ग्रहालयको डिपिसी निर्माणको काम सम्पन्न भइसकेको छ।
परियार समुदायको परम्परागत ज्ञान, सीप, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्न सङ्ग्रहालय निर्माण गर्न लागिएको हो। “नयाँ पुस्तालाई आफ्नो पेसाबारे थाहा छैन, त्यसैले अध्ययन, प्रशिक्षण र संरक्षणका लागि सङ्ग्रहालय आवश्यक छ,” परियार एकता समाज चितवनका अध्यक्ष सुरज परियारले बताए।
चारतले भवनमा सभा हलसहितको संरचना निर्माण हुने र यहाँ पञ्चेबाजा सिकाइने, पुराना बाजाहरूको संरक्षण गरिनेछ। परियार समुदायको सिलाइकटाइ, पारम्परिक पोसाक र वाद्यवाद्य सामग्री प्रदर्शन गरिनेछ।
परम्परागत रूपमा विवाह, जात्रा, पूजाआदिमा पञ्चेबाजा बजाउने र कपडा सिलाउने पेसामा संलग्न परियार समुदायको संस्कृतिलाई संरक्षण गर्न ढिलो भइसकेको भन्दै अगुवा शेरबहादुर परियारले समयमै पहल नगरे लोप हुने चिन्ता व्यक्त गरे।
भरतपुर महानगरपालिकाले जग्गा र प्रारम्भिक १० लाख रुपैयाँ सहयोग गरिसकेको छ। बाँकी रकम प्रदेश सरकार, संघसंस्था र व्यक्तिको सहयोगमा जुटाउने तयारीमा रहेको कोषाध्यक्ष डिल्लीबहादुर परियारले जानकारी दिए।
सङ्ग्रहालय तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसले परियार समुदायको पहिचानसँगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। नेपालमा परियार समुदायको जनसंख्या करिब छ लाख रहेको अनुमान छ।




