काठमाडौँ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले सरकार प्रभावकारी हुन नसकेको भन्दै सरकारमाथि प्रश्न उठाएका छन्।
केन्द्रीय समितिको मंगलबारको बैठकमा बोल्ने केन्द्रीय समितिका सदस्यहरुले सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै सरकारको कार्यक्षमता माथि नै प्रश्न गरेका हुन्।
सरकार सात बुँदै सहमतिअनुसार अघि बढ्न नसकेको कांग्रेसका केन्द्रीय सदस्यहरुको निष्कर्ष रहेको छ। उनीहरुले सरकारले गरेका कमजोरीहरुलाई सच्याउन सुझाव दिएका छन्।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सत्ता गठबन्धनभित्र कांग्रेसको पहिचान कम देखिएको भन्दै प्रश्न उठेको बताए। उनले यथास्थितिबाट कांग्रेसले गति लिन नसक्ने उल्लेख गरे। पार्टीलाई नेताप्रधान नभई नीतिप्रधान बनाउनुपर्ने उनले माग गरे।
उनले भने, ‘सत्ता गठबन्धनभित्र नेपाली कांग्रेसको पहिचान देखिन कम भयो भन्ने छ। त्यो अभिव्यक्ति केन्द्रीय समितिमा पनि आएको छ। यथास्थितिबाट कांग्रेसले गति लिन सक्दैन। पार्टीलाई नेताप्रधान नभई नीतिप्रधान बनाउनुपर्छ।’
यस्तै, कांग्रेस केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतले सरकारको प्रभावकारिता बढ्नुपर्ने र मेहनत अझ बढाउनुपर्ने विषयमा केन्द्रीय सदस्यहरुले धारणा राखेको जानकारी दिए। सरकारमा उपस्थिति प्रभावकारी हुनुपर्ने सुझाव आएको उनले बताए।
बैठकमा बोल्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सरकार राम्रो र चुस्तसँग चल्नुपर्छ भन्ने धारणा आइरहेको बताए। सरकारका कामका बारेमा टिकाटिप्पणी हुनु स्वभाविक भएको उनको भनाइ थियो।
उनले सरकारमा रहेको पार्टीले सरकारका सन्दर्भमा आफ्ना विषय र अभिव्यक्ति राख्ने क्रममा सरकारका विषय आउने तर यसलाई नै लिएर सरकार परिवर्तन भइहाल्छ भन्ने नहुने बताए।
केन्द्रीय सदस्य नारायणप्रकाश साउदले सात बुँदे कार्यक्रमलाई आधार बनाएर सरकार चल्नुपर्नेमा जोड दिए। सात बुँदे कार्यक्रम सरकार गठनको औचित्य, भावि कार्यदिशा र यसले मुलुकलाई रुपान्तरणका लागि निर्वाह गर्नुपर्ने भूमिकासँग सम्बन्धित रहेको उनले बताए।
कांग्रेस केन्द्रीय सदस्य राजन केसीले सात बुँदेअन्तर्गतको संविधान संशोधनको मुद्दाबारे गृहकार्य भइरहेको बताए। सरकारबाट भएका कमी, कमजोरी सच्याउँदै अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो।




