देश

अनेरास्ववियूमा दोहोरो कमान्डको इगो हठ : व्यक्तिगत महत्वाकांक्षा र नेतृत्वप्रतिको असन्तुष्टिको परिणाम

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूमा गहिरिँदो विवाद अन्ततः विभाजनमै रूपान्तरित भएको छ। अध्यक्ष महेश श्रेष्ठप्रति असन्तुष्ट समूहले नरेश न्यौपानेको नेतृत्वमा १६७ सदस्यीय समानान्तर केन्द्रीय समिति घोषणा गर्दै विद्रोहको बिगुल फुकेको छ।

न्यौपाने पक्षले नयाँ कमिटीको औचित्य पुष्टि गर्न भन्दै विधि, पद्धति र विद्यार्थी आन्दोलनप्रतिको प्रतिबद्धताू देखाए पनि यो कदम व्यक्तिगत महत्वाकांक्षा र नेतृत्वप्रतिको असन्तुष्टिको परिणाम हो भन्ने आरोप श्रेष्ठ समूहको छ। महेश श्रेष्ठले नरेश न्यौपानेप्रति कडा टिप्पणी गर्दै भने, “अध्यक्ष बन्न रहरले कमिटी बनाउने हो भने संगठनको अनुशासनको के अर्थ रहन्छ? पार्टीको सहमति अनुसार जिम्मेवारी दिइएको हो, उहाँ प्रशिक्षण विभाग र सुदूरपश्चिम इन्चार्ज हुनुहुन्छ।”

यता न्यौपाने पक्षको तर्क छ—वास्तविक विद्यार्थी संगठनको रूपमा अनेरास्ववियूलाई पुनर्स्थापित गर्न यो कदम आवश्यक थियो। उनीहरूले संगठनभित्र ूराजनीतिक आकांक्षा बोकेर बस्नेहरू को प्रभुत्व हटाउन उमेर हदबारे पनि बहस उठाएका छन्। तर, श्रेष्ठले थप आरोप लगाउँदै भने, “संगठनभित्र बसेर एमालेसँग बार्गेनिङ गर्नेहरू अहिले आएर यहाँ भद्रगोल गर्न खोजिरहेका छन्। यदि सच्चिएर फर्किए, त ठिकै, नभए कारबाही निश्चित छ।”

यो घटनाले अनेरास्ववियू मात्र होइन, समाजवादी पार्टीको भ्रातृ संगठनहरूको स्वायत्तता र नेतृत्व छनोटको प्रणालीमाथि पनि गम्भीर प्रश्न उठाएको छ। पार्टी इन्चार्जहरूले विवाद समाधान गर्न प्रयास गरे पनि स्पष्ट राजनीतिक इच्छाशक्ति नदेखिएको अवस्थामा संगठन अब अझ गहिरो द्वन्द्वमा फस्ने सम्भावना बढेको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *