काठमाडौँ। देशभरका विभिन्न ३९ जिल्लामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
महाशाखाका अनुसार आज कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, डडेलधुरा, बैतडीलगायत सुदूरपश्चिम र मध्यपश्चिमका जिल्लाबाट बहने स–साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने र आकस्मिक बाढीको जोखिम रहेको छ।
त्यसैगरी, कास्की, लमजुङ, पर्वत, गोरखा, तनहुँ, नवलपरासी (पूर्व/पश्चिम), चितवन, बाग्लुङ, रोल्पा, म्याग्दी, प्युठान, गुल्मी, दाङ, बाँके, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रुकुम पश्चिम, सल्यान, कपिलवस्तु, अर्घाखाँची, जाजरकोट, कालीकोट, मुगु, दैलेख, अछाम, बझाङ र दार्चुलामा बहने नदीहरूमा पनि बाढीको सम्भावना रहेको जनाइएको छ।
पूर्वका संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र आसपासका जिल्लाबाट बहने स–साना नदीहरूमा पनि आज बहाव बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिम रहेको महाशाखाले जनाएको छ।
बाढीको विशेष निगरानीमा रहेका मुख्य नदीहरू:
कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीका जलसतहहरू हाल सतर्कता तहभन्दा तल भए पनि वर्षासँगै तीव्र वृद्धि हुने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता आवश्यक छ।
महाशाखाका अनुसार, पछिल्ला २४ घण्टामा कञ्चनपुरको बेलौरीमा २०१ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन अत्यधिक हो। सुदूरपश्चिमका विभिन्न ठाउँमा रातिदेखि वर्षा भइरहेकाले जोखिम अझै बढेको देखिएको छ।
आज मधेश बाहेकका अधिकांश प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।




