देश

सुदूरपश्चिममा भारी वर्षा, मोहना नदीमा बाढीको जोखिम उच्च

कैलाली। सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा लगायतका जिल्लामा आइतबार बिहानदेखि निरन्तर भारी वर्षा भइरहेको छ। वर्षाले तराई क्षेत्र डुबानमा पर्ने र पहाडी क्षेत्रमा पहिरोको जोखिम बढाएको छ।

कैलाली जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार धनगढी र गोदावरी क्षेत्रमा व्यापक वर्षा भइरहेको छ, जसका कारण मोहना नदीमा बाढीको जोखिम उच्च बनेको छ।

हाल बिहान ७:३० बजे मोहना नदीको जलस्तर ३.०६ मिटर पुगेको छ, जुन सतर्कता तह नाघेको हो। जल तथा मौसम विज्ञान विभागले नदी आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। जोखिम क्षेत्रमा रहेका नागरिकलाई एसएमएसमार्फत सचेत गराइएको जनाइएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज पनि सुदूरपश्चिमका अधिकांश स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ। नदीको जलस्तर अझै बढ्न सक्ने भएकाले नागरिकलाई सजग रहन पुनः अनुरोध गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *