देश

प्रतिनिधिसभामा सांसदहरूको आवाज : ‘सरकार संसदप्रति जवाफदेही हुनुपर्छ’

काठमाडौं। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूले जनताका समस्यामा संसदमार्फत आवाज उठाउँदा सरकारले गम्भीरतापूर्वक जवाफ नदिएको गुनासो गर्दै सरकार संसदप्रति जवाफदेही हुनुपर्नेमा जोड दिएका छन्।

माओवादी केन्द्रका सांसद अमनलाल मोदीले शून्य तथा विशेष समयमा सांसदहरूले जनताको पक्षमा उठाएका विषयमा सरकार मौन बस्ने गरेको आरोप लगाए। उनले आफूले हुलाकी सडकको दुरवस्थाबारे ध्यानाकर्षण गराउँदा समेत सरकारबाट प्रतिक्रिया नआएको उल्लेख गरे।

नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीले गुल्मीको रुरु–तम्घास सडक नीतिगत निर्णय नहुँदा निर्माण हुन नसकेको भन्दै जोखिम बढिरहेको बताए।

माओवादी केन्द्रकै सांसद रणेन्द्र बरालीले सिरहामा अजय महरा नामक युवाको हत्या भएको घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरे।

आम जनता पार्टीका प्रभु शाहले पशुपति क्षेत्रका गतिविधि पारदर्शी बनाउनुपर्नेमा जोड दिए भने एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठले पथलैयाबाट निजगढ जाने बाटोमा रहेको दूदरा खोलाको पुल वर्षौंदेखि नबन्दा जनताले समस्या भोगिरहेको बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *